ई–आर्थिक, वीरगन्ज : कोरोना भाइरसको ‘हटस्पट’ जिल्लामा संक्रमितको मृत्यु हुनेको संख्या बढिरहेको छ । यसैक्रममा वीरगन्जमा थप दुई जनाको ज्यान गएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ः३० मृत्यु भएको छ ।
मृत्यु भएका पुरुष कारोना भाइरसको संक्रमित हुनुका साथै मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका बुझिएको छ । ती विरामीमा निमोनियाको समेत समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
चिकित्सकका अनुसार ती पुरुषमा भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई राति नै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो ।
यसअघि शुक्रबार राति पनि वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।
मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा लगेर भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा गर्दै अवस्था झन् गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये पर्साका २७, बाराका ५ र रौतहटका २ जना हुन् ।
पर्सामा मृत्यु भएका दुई जनासँगै नेपालभर मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।