सन्दर्भ तेह्रौं दिनको पूण्य तिथी
अरुको भलाई चाहाने राउत आफू भने अल्पआयुमै कष्टप्रद देहत्याग गरे, भ्रमपूर्ण समाचारले परिवार झन दुःखी
रोशन राउत, काठमाडौं । व्यवसायी तथा समाजसेवी अस्मिनकुमार राउतले यो संसारबाट देहत्याग गरेको आज तेह्रो दिन भइसकेको छ । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका राउतको बीर अस्पतालमा उपचारको क्रममा सोही दिन निधन भएको थियो ।
श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा गएको असार २७ गते शनिवार आत्मदाहको प्रयास गरेको गरेका थिए । ६० प्रतिशत जलेको दयनीय अवस्थामा उनलाई उद्दार गरी बीर अस्पताल पु¥याइएको केही घण्टामै चिकित्सकले उनको निधन भएको घोषणा गरेको थियो ।
देहत्यागसँगै जोडिएका थुप्रै ‘संयोग’हरु
स्व. अस्मिनकुमार राउतले देहत्याग गर्दै गर्दाको समयसँगै थुप्रै ‘संयोग’हरु रहेका छन् । त्यसमध्ये केही संयोगहरु फरक खालका पनि थिए । आमाको श्राद्धकै दिन उनले देहत्याग गरेको छन् । अघिल्लो दिन एकछाकिकै दिन भोलीपल्ट आमाको श्रद्धाको विषयमा परिवारसँग छलफल भएको थियो । ‘यसपटक थोरै आफन्तका बीच ‘फास्ट ट्र्याक’ बाट श्राद्ध गर्ने निर्णय भएको थियो ।’ स्व. राउतकी श्रीमती डिम्पल राउतले भनेको उदृत गर्दै उनकी दिदीले रुदै भनिन्– ‘आमाको श्राद्ध पनि गर्न पाएन्, अन्ततः आमासँगै गयो भाई ।’
त्यस्तै दुई दुई कम्पनीका मालिक राउत आर्थिक बर्ष समाप्तीको ‘क्लोजिङ’ दिनको नजिकमा पनि थिए । सोही समयमा उनले आफ्नो लेनदेनलाई टुंग्याउन खोजेको देखिन्छ । उनले देहत्याग गर्ने अघिल्लो दिनसम्म तिर्नुपर्ने थुप्रैलाई मोबाइल बैंकिङबाट पैसा फिर्ता दिएका छन् । यसले पनि आफूले दिनुपर्ने ठाउँमा मरेर जाँदा समेत प्रश्न नउठाउन भन्ने सन्देश दिएर गएको पैसा फिर्ता पाएको एकले जानकारी दिए ।
त्यसैगरी राउत क्षत्री सेवा समाजको केन्द्रीय अध्यक्ष समेत रहेका राउतले आफ्नो कार्यकाल छोट्याउन स्वास्थ्यका कारण देखाउँदै समाजका सह–अध्यक्ष हरिकृष्ण राउतलाई का.वा. अध्यक्षको जिम्मेवारी दिएका थिए । जुन केन्द्रीय कार्यसमितिले पारित गराउने तयारीमा थियो । त्यस्तै समाजको बाँकी रहेको अडिट, नविकरण र एपलाई प्रभावकारी बनाउने बिषयमै समाजका सम्बन्धित पदाधिकारीहरुलाई एकदिन अघिसम्म घरमै बोलाएर चरण चरणमा छलफल गरेका थिए । ‘अडिट, नविकरण र एपलाई प्रभावकारी बनाउने बिषय केही दिन अघि निष्कर्षमा पुग्ने गरी छलफल भएको थियो ।’ छलफलमा सहभागी समाजका उपाध्यक्ष मेघबहादुर राउतले भने– ‘अध्यक्षज्यूले स्वास्थ्य अवस्थाका कारण सामान्य थकान महसुस गरेको आफूहरुले पाए पनि यस्तो निर्णय गर्नुहोला भन्ने हामीले कल्पना समेत गरेको थिइनौं ।’

भ्रामक र तथ्यहिन समाचारले परिवारलाई दियो झन ठूलो पीडा
त्रिपुरेश्वरमा एक युवाले आत्मदाह गरेको घटना उत्कर्षमा पुग्दै गर्दा भएको राउतको देहत्याग घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यमको ध्यान खिच्यो । राउतको आत्मदाहको घटना अधिकांश सबै मिडियाहरुमा प्रमुख ‘हेडलाइन’ बन्यो । तर आधिकारिक पुष्टि विना आएको थुप्रै्र भ्रामक समाचारले परिवारलाई पीडा माथि झन पीडा थप्ने काम ग¥यो । राउतले आत्मदाह गर्नु पर्ने कारण अधिकांश मिडियाले ‘परिवारसँगको झगडा’ र ‘खस्कदो आर्थिक अवस्था’लाई देखाए । जुन आधारहिन र भ्रामक थियो । मिडियामा आए जस्तो भ्रामक समाचारको अहिलेसम्म कहि कतैबाट पनि पुष्टि हुन सकेको छैन ।
मिडियाहरुले यतिसम्म गरेकी ‘बालिका बलात्कार गरेर भाग्दै गर्दा सहकारीका सीईओ धनिराम भण्डारी पक्राउ’ भन्ने शिर्षकको समाचारमा समेत स्व. राउतको तस्विर राख्न भ्याए । यस्ता अप्रसांगिक समाचारहरुले असहय पीडा दिने मिडियाहरुले ठूलो अन्याय गरेको भन्दै परिवारका सदस्यहरुलाई थप दुखी बनायो । ‘आफूहरु पीडामा रहेको बेला आएका हचुवा र भ्रामक समाचारले ठूलो पिडा दियो ।’ उनका भाई दिपक राउतले भने– ‘दाईको दयनीय अवस्थाका कारण हामी त बेहोसमै थियौं तर, मिडियाहरुले होस गुमाएर जथाभावी समचार सम्प्रेषण गरेको देख्दा आश्चर्यमा प¥यौं ।’
विशेषगरी केही अनलाइन सञ्चारमाध्यममा आएको भ्रमपूर्ण र तथ्यहिन समाचारले आफूहरुलाई पीडा थप्ने काम गरेको उनले बताए ।
दाईले सञ्चालन गरिरहेको व्यवसायिक संस्थामा आर्थिक तनाब नरहेको र उद्योग व्यवसाय सबै फाइदामै रहेको भाई अशोक राउतले जानकारी दिए । उनले भने– ‘दाईलाई कुनै आर्थिकको तनाब थिएन् ।’
मिडियाहरुलाई कडा कारवाहीको माग
आत्मदाह जस्तो संबेदनशील बिषयमा जथाभावी आएको समाचारले राउतको पुरै परिवार तनाबमा रहेको छ । मिडियाहरुले ‘भ्यूज’ कमाउने नाममा ‘लासमाथि’ समेत खेलवाड गरेको आरोप परिवारको छ ।
‘हामीलाई परेको बज्रपातको समाचार नबनाउन भन्ने हाम्रो आसय होइन् ।’ परिवारका एक सदस्यले भने– ‘यस्तो बिषयमा संवेदनशील भएर बुझेर पत्रकारिता गरियोस् भन्ने मात्रै हामीले भन्न खोजेका हौं ।’
यथार्थ र बास्तविकता नबुझी जथाभावी समाचार लेख्ने दर्जन भन्दा बढी मिडियाहरुलाई कारवाही गर्न परिवारका सदस्यहरुले सम्बन्धित निकायसँग माग गरेका छन् ।
दुई कम्पनीका मालिक
निर्माण व्यवसायी समेत रहेका स्व. राउतका दुई कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनको हेटौंडामा सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र काठमाडौंको अनामनगरमा कार्यालय रहेको दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था सञ्चालनमा छन् । सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले ‘निओन ब्राण्ड’का ‘होम एप्लायन्सेस’को नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।
समाजसेवामा उल्लेख्य योगदान

विभिन्न प्रकृतिका उद्योग व्यवसाय सञ्चालन गरेर रोजगारी र राजश्वमा समेत राम्रो योगदान पु¥याइरहेका राउतले समाजसेवा सेवामा त्यस्तै गहिरो छोडेका छन् । उनी देश विदेशमा रहेका बशिष्ठ गोत्रीय राउतहरुको केन्द्रीय छाता संस्था राउत क्षत्री सेवा समाज नेपालको अध्यक्षको भूमिकामा रहेर सेवा पु¥याउँदै आएका थिए । उनकै पहलमा समाजमा अक्षयकोष स्थापनादेखि विन्ध्यबासिनी मन्दिर निर्माण सम्पन्नलगायत थुप्रै राम्रा कामहरुको भएका छन् ।
हरेक सामाजिक कार्यको अग्रभागमा रहेर योगदान पु¥याउने राउतले आफ्नो सिराहको घर भएको स्थानमा चौकी निर्माणमा समेत अगुवाईसँगै ठूलो योगदान गरेका थिए । अहिले उनी यो धरातालमा छैनन्, तर उनले छाडेर गएका कल्याणकारी काम र स्मृतिहरु सदा अमर रहिरहने समाजका का.वा. अध्यक्ष हरिकृष्ण राउतले बताए ।
चार जिल्ला डुब्यो शोकमा
पूर्खा, इतिहास र बसोबासका दृष्टिले उनी चार जिल्लासँग प्रत्यक्ष जोडिएका छन् । काठमाडौंका ५१ बर्षिय स्व. राउतको सिराहको पक्किटोलमा घर र खेतीपाती रहेको छ । त्यस्तै ललिपुरमा ससुरालीसँगै जमिनहरु रहेको छन् भने काठमाडौंको बुद्धनगरमा उनको हाल बसिरहेको घर रहेको छ । निकट भबिष्यमै बुद्धनगर या भैसीपाटीमा सुविधासम्पन्न घर निर्माणको तयारी पनि गरिरहेको स्व. राउतले भनेका उनकै समकक्षीहरु बताउँछन् । त्यसैगरी राउतको पुर्खौली उदयपुरसँग जोडिएको छ । उनका अधिकांश आफन्तहरु उदयपुरमै रहेको बताइन्छ । अहिले उनी जोडिएका काठमाडौं, सिराह, ललितपुर र उदयपुर शोकमा डुबेको छ ।

अस्मिनले परिवारलाई पीडा बुझ्ने अवसर दिएन : पूर्ब सांसद राउत
पूर्वसांसद समेत रहेका स्व. राउतका काका बिष्णुबहादुर राउतले उनमा परेको पीडा र समस्या आफूहरुले बुझ्ने अवसर समेत नपाएका बताए । ‘के कारणले अस्मिनले यस्तो कठोर निर्णय लिनुप¥यो हामीले बुझ्न सकेनौं ।’ पूर्वसांसद राउतले स्व. अस्मिनलाई संकेत गर्दै प्रश्न गरे– ‘उसको केही अफ्ठ्यारै भएपनि हामीले समयमै थाहा पाएको भए सहजीकरण गर्न सकिन्थ्यो की ?’ परिवारको सदस्यको नाताले उनले यो हदसम्म निर्णय गर्नुपर्ने अफ्ठ्यारो आफूहरुले अनुभव नै नगरेको पूर्वसांसद राउतले बताए । ‘मानिस हो मानिसको जीवनमा अनेक चुनौति र समस्या आइलाग्छन् । ती सबै चुनौतिहरुलाई अवसरमा परिणत गर्ने क्षमता अस्मिन आफैंले राख्थ्यो ।’ पूर्वसांसद राउतले उनको क्षमताको कदर गर्दै थपे– ‘तर, अहिले उसले सहयोग हामीलाई कुनै गर्ने अवसर नै दिएन ।’

स्वास्थ्यमा सुधार नहुनु हुनसक्छ आत्मदाहको कारण !
लामो समयदेखि नशा र हड्डीसम्बन्धी समस्याले पीडित राउत केही समयअघि भारतमा उपचार गराएर फर्केका थिए । पटक–पटक उपचार गरेपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको थिएन् । त्यसले उनलाई चिन्तित बनाइरहेको थियो । स्वास्थ उपचार पछि अधिकांश समय उनी ‘बेड रेस्ट’मा थिए । ‘स्वास्थ्यमा उल्लेख्य सुधार नहुँदा उनमा धेरै ठूलो गुनासो रहेको थियो ।’ परिवारका एक सदस्यले भने– ‘उनले आत्मदाह नै गर्नुपर्ने मूख्य कारण नै यही हुन सक्छ ।’ अन्य कुनै कारण नहुँदा यही कारणले उनले यस्तो निर्णय लिएको हुनसक्ने परिवारका ती सदस्यको अनुमान छ ।
छोराको शोकले विक्षिप्त बनेका बयोबृद्ध बुबाको ‘कारुणिक’ त्यो क्षण

‘खाउँ–खाउँ लाउँ–लाउँ र केही गरौं’ भन्ने उमेरको छोरा गुमाउनु पर्दाको पीडा बयोबृद्ध बुवामा परेको छ । केही बर्ष अघि श्रीमती गुमाएर केही एक्लोपन महसुस गरिरहेका ८२ बर्षीय बुवा कृष्णराज राउतको पीडा कमको देखिदैनथ्यो । अकालमा छोरो गुमाउनु पर्दा विक्षिप्त बनेका अस्मिनका बुवामा जम्मा भएका सबैको ध्यान गएको देखिन्थ्यो । उपचारस्थल र शबदाहस्थलसम्म उनलाई सम्हाल्न परिवार र आफन्तलाई हम्मे–हम्मे परेको दृष्य साह्रै कारुणिक देखिन्थ्यो । श्रीमती, छोरा, फूपु दिदीहरुको अवस्था पनि लगभग बुवाको भन्दा कमको थिएन् । परिवारमा आशालाग्दो खम्बा ढलेको अप्रत्यासित घटनापछि उनीहरु सबै विक्षिप्त र अचेत जस्तै भएका थिए । भाई गुमाएर अर्धचेत जस्तै भएका दिदीहरूले भाईको उमेर समूहका जसलाई भेट्यो उनीहरुलाई हामीले भाई गुमायौं अब तिमिहरु नै ‘हाम्रो भाई’ भन्दै भक्कानिएको दृष्यले सबैलाई भाबुक बनाएको दृष्यले सबैलाई छोएको थियो ।
आमाको श्राद्धकै दिन देहत्याग अनौठो संयोग

परिवारले आफ्नो आमाको माया नगर्ने सायदै भेटिएलान । तरपनि उनले भने आफूलाई भन्दा पनि बढी आमालाई माया गर्ने गरेको परिवारिक स्रोत बताउँछ । उनले आफ्नो फेसबुकको आफ्नो शिर्ष स्थानको कभर फोटो समेत आमाकै राखेका छन् । यसले पनि स्रोतले भनेझै परिवारमा उनले अलिक बढी आमालाई नै माया गर्ने गरेको पुष्टि गर्दछ । राउतको देहत्याग आमाकै श्राद्धको दिन भएको छ । यसले झन सबैलाई सोच्न बाध्य बनाएको छ । यसलाई सबैले अनौठो संयोग या पहिला देखिकै तयारीको रुपमा अनुमान लगाएका छन् । परिवारका एक सदस्यले भाबुक हुँदै भने– ‘श्राद्ध नगरी आमालाई स्वर्गमै भेट्ने हिसावमा उसले बाटो पहिल्याएको हुनसक्छ ।’
घरमा बेड रेष्टको साथी ‘जी वन’

भारतमा उपचार गरेर घरमा बेड रेष्ट गर्दा परिवारका सदस्य नभएको अवस्थामा उनको सदावहार साथी ‘जी वन’ थियो । घरपालुवा उक्त जनावरलाई विरामी परेर घरमा आराम गर्दाको साथीको रुपमा उनले लिने गरेका थिए । ‘म विरामी परेर घरमा आराम गरेको बेलादेखि अहिलेसम्म साथ नै छोडेको छैन्’ भनि केही दिन अघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । आफ्नो मालिक नहुँदा अहिले ‘जी वन’ समेत चिन्तित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । अत्याधिक माया गर्ने ‘जी वन’ले समेत अहिले आफ्नो धनी राउतलाई पर्खिरहेको आभास दिएकोे उनीहरुको भनाई छ ।

दागबत्ती दिएसँगै जब छोराले बुवाको पाउँ ढोगेसँगै चुम्बन गरिरहे…

सातसय भन्दा बढीको भीडको बिचमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कारको अन्तिम तयारी भइरहेको थियो । प्रचलित परम्परा अनुसार नै दाहासंस्कारको अन्तिम अवस्थामा छोराले दागबत्ती दिए । दागबत्ती दिइसकेपछि उनले मृतक राउतको पाउमा पटक–पटक ढोगे । त्यसपछि उनी त्यहाँ निक्कैबेर अडिएर बुवाको पाउँमा चुम्बन गरिरहे । पाउँमा लगातार चुम्बन गरिरहेका उनलाई बुबासँग छुटाउन निक्कै कठिन भएको थियो । उक्त दृष्यले परिवार, आफन्तदेखि पुरै भीडहरुको आत्मलाई समेत छोएको थियो । सो समयमा परिवार र आफन्तबीच थप रुवावासी चलेको थियो भने उपस्थित सबैको आँखाबाट आँसुसँगै भावुक मुद्रामा देखिन्थे ।
बुबालाई दागबत्ती दिने आर्यन राउत मृतकका एकमात्र सन्तान हुन् ।
‘समाज सेवामा उनको जहिल्यै अभाव महसुस भइरहने छ’ : का.वा. अध्यक्ष राउत

राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका स्व. अस्मिनकुमार राउतको समाजसेवामा जहिल्यै अभाव रहिरहने समाजका का.वा. अध्यक्ष हरिकृष्ण राउतले बताए । ‘लामो समयदेखि समाजसेवामा जोडिएका उनको समाजले जहिल्यै अभाव महशुस गरिरहने छ ।’ का.वा. अध्यक्ष राउतले भने– ‘अस्मिन राउतजीको दुखद् निधनले समाज र सम्पूर्ण राउत परिवारलाई अपुरणीय क्षति भएको छ ।’ समाजमा रहँदा उनले थालेका र पुरा नभएका अधुरा कार्यहरु गरेर उनको सपना पुरा गर्न आफूहरु अहोरात्र खटिने पनि का.वा. अध्यक्ष राउतले जानकारी दिए ।
आफन्त र शुभचिन्तकको भीड

उद्योग व्यवसायका साथै समाजसेवामा समेत राम्रो योगदान पु¥याएका राउत समाजमा परिचित नाम थियो । उनको दुखद् घट्ना सुनेपछि उनी उपचाररत बीर अस्पताल परिसरमा ठूलो भीड लागेको थियो । अस्पताल परिसरमा उनका आफन्त, शुभचिन्तक, साथीभाईका साथै उद्योगी व्यवसायीको समेत उल्लेख्य उपस्थिति थियो । उनलाई नजिकबाट चिन्ने नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहलगायतका उद्योगी व्यवसायीहरु उनको यस्तो अप्रत्यासित घटनाबाट स्तब्ध भएको देखिन्थे ।
बीर अस्पताल परिसरमा पुगेको भीडले पोष्टमार्टमस्थल टिचिङ अस्पताल हुँदै सदगदस्थल पशुपति आर्यघाटको अन्तिम समयसम्म पछ्याईरहेका थिए ।