२०८३ साउन ८ शुक्रबार

कृषि कर्ममा छोरा नातीलाई चुनौति दिने बयोबृद्ध राउत दम्पत्ती, मेहनत र समाजसेवाको बने प्रेरणादायी उदाहरण

ई आर्थिक    आइतबार, असार १४ २०८३
9.7K
Shares
कृषि कर्ममा छोरा नातीलाई चुनौति दिने बयोबृद्ध राउत दम्पत्ती, मेहनत र समाजसेवाको बने प्रेरणादायी उदाहरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हडियाका ९४ वर्षीय मानबहादुर राउत र उनकी ९२ वर्षीया पत्नी पवित्रामाया राउत जिल्लाकै सबैभन्दा ज्येष्ठ उमेर समूहका नागरिकमध्ये पर्छन्। तर उमेरले शताब्दी नजिक पुगिसक्दा पनि उनीहरूको दैनिकी भने खेतीपातीमै बित्ने गरेको छ।

अहिले गाउँघरमा मकै भित्र्याउने चटारो चलिरहेको छ। यही चटारोले राउत दम्पतीलाई पनि छोएको छ। उनीहरू आफैं मकै भित्र्याउने, झुत्ता बनाउने, नग्याउने र भण्डारण गर्ने काममा सक्रिय छन्। मकै सकिएपछि असारे धान रोपाइँ, त्यसपछि कोदो र तोरी खेतीको चिन्ता पनि उनीहरूलाई उत्तिकै छ।

उमेरले विश्राम लिनुपर्ने अवस्था भए पनि खेतीपातीमा उनीहरूको सक्रियता देखेर धेरैजसो मानिस आश्चर्यचकित हुने गर्छन्। उनीहरूका अनुसार हातखुट्टा चलुञ्जेल काम गर्नुपर्छ। नियमित श्रमले शरीर स्वस्थ रहने, खाना राम्रोसँग पच्ने र जीवनमा स्फूर्ति आउने विश्वास उनीहरूको छ। गाउँघरको अर्गानिक खानपान र दैनिक श्रम नै दीर्घायुको रहस्य भएको उनीहरू बताउँछन्।

९० बर्ष काटिसकेका त्यस क्षेत्रकै बृद्ध राउत दम्पत्ती कहाँ दिनहुँ पुराना र प्रेरणादायी कुरा सुन्न, आशिर्बाद लिन आउँनेको संख्या प्रसस्तै भेटिन्छन् ।

पुरानो समयका सम्झना

मानबहादुर राउतले आफ्नो युवावस्थाका दिन सम्झँदै सुक्को मानो घिउ पाइने र पाँच सय रुपैयाँमै जग्गा किन्ने समय निकै रोचक रहेको सुनाउँछन्। त्यतिबेला सामान्य बिरामी हुँदा तितेपाती, बोझो, लसुनजस्ता घरेलु जडीबुटी प्रयोग गरिन्थ्यो भने हातखुट्टा भाँचिँदा वा मर्किँदा काम्रो बाँधेर उपचार गर्ने चलन रहेको उनी बताउँछन्।

दुई विवाह, सयभन्दा बढी सदस्यको परिवार

मानबहादुर राउतले दुवै विवाह बाजागाजासहित गरेका थिए। जेठी पत्नी पवित्रामायाबाट १० जना र कान्छी पत्नी भीममायाबाट ११ जना गरी २१ सन्तान जन्मिएका थिए। तीमध्ये हाल १४ जना जीवित छन् भने ७ जनाको निधन भइसकेको छ।

परिवारमा छोरा–छोरी, नाति–नातिना र पनाति–पनातिना गरी सयभन्दा बढी सदस्य छन्। चाडपर्व, पारिवारिक कार्यक्रम वा दुःख–सुखका अवसरमा हुने उनीहरूको पारिवारिक जमघट क्षेत्रकै उदाहरणीय मानिन्छ।

जेठी पत्नी पवित्रामाया अहिले पनि ९२ वर्षको उमेरमा स्वस्थ जीवन बिताइरहेकी छन् भने कान्छी पत्नी भीममाया राउतको ६८ वर्षको उमेरमा निधन भएको थियो।

खेतीसँगै व्यापार र समाजसेवामा पनि सक्रिय

कृषि मुख्य पेसा भए पनि मानबहादुर राउत लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका छन्। करिब २८ वर्षअघि उनले झण्डै एक दशक व्यापार व्यवसायसमेत सञ्चालन गरेका थिए।

खोटाङको साउनेचौर–सिन्ताङमा जन्मिएका राउत परिवार हाल उदयपुरको चौदण्डीगढी–१० हडियामा स्थायी रूपमा बसोबास गर्दै आएको छ। हडिया बजारलाई व्यवस्थित बनाउन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न उनको महत्वपूर्ण भूमिका रहेको स्थानीयहरू बताउँछन्। आज हडिया यस क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित छ, जहाँ नियमित बजारसँगै शनिबार विशेष हाटबजार लाग्ने गर्दछ।

मन्दिरदेखि सिंचाइसम्म योगदान

मानबहादुर राउतले स्थानीय शिवालय मन्दिर निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै आर्थिक सहयोग गरेका थिए। त्यस्तै सिंचाइका लागि बोरिङ गाड्ने जग्गासमेत उपलब्ध गराएर स्थानीय कृषकलाई ठूलो सहयोग पुर्‍याएका छन्।

समाजमा हुने विकास निर्माण, धार्मिक तथा सामाजिक अभियानमा उनीहरूको योगदान निरन्तर रहँदै आएको छ। मर्दापर्दा सबैलाई दिल खोलेर सहयोग गर्ने स्वभावका कारण उनी समाजमा सम्मानित व्यक्तिका रूपमा परिचित छन्।

आधुनिक समाजप्रति चिन्ता

राउत दम्पतीका अनुसार अहिलेको प्रविधिले जीवन सहज बनाए पनि समाजलाई केही हदसम्म भड्किलो बनाएको छ। उनीहरू युवापुस्तालाई कुलत र कुकर्मबाट टाढा रही आफ्नो धर्म, संस्कृति, परम्परा र नैतिक मूल्यलाई आत्मसात् गर्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्छन्।

परिवार गुमाएको पीडा अझै ताजा

ठूलो परिवार हुर्काउनु, कृषि, व्यापार र समाजसेवालाई सँगसँगै अघि बढाउनु उनीहरूका लागि चुनौतीपूर्ण यात्रा थियो। आफ्ना सबै सन्तानलाई आ–आफ्नो क्षेत्रमा स्थापित भएको देख्न पाएकोमा उनीहरू गर्व गर्छन्।

तर परिवारका सदस्यहरूलाई अल्पायुमै गुमाउनुपरेको पीडाले भने अझै उनीहरूको मन छोएको छ। कान्छी पत्नी भीममाया, जेठो छोरा नीरबहादुर, जेठीपट्टिका छोरा केदार तथा कान्छीपट्टिकी छोरी मधुलगायत परिवारका आठ सदस्यको असामयिक निधनले जीवनभर बिर्सन नसकिने पीडा दिएको मानबहादुर बताउँछन्।

उमेरले शताब्दीको संघारमा पुगे पनि मानबहादुर राउत र पवित्रामाया राउतको सक्रिय जीवनशैली, श्रमप्रतिको सम्मान, समाजसेवा र पारिवारिक उत्तरदायित्वप्रतिको समर्पण नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

तस्विरमा देखिएका अधिकांश घरहरु मानबहादुर राउत परिवारले नै बनाएका हुन भने अहिले पनि उक्त घरहरुमा उहाँहरुकै परिवारका सदस्यहरु बस्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij