काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेससँगको असमझदारी बढ्दै गएपछि एमालेका ६ जना मन्त्रीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बनियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
राजीनामासँगै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ। यससँगै मुख्यमन्त्री बनियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेको छ।
सरकारबाट राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, सहकारी तथा गरिबी निवारण मन्त्री बिन्दु श्रेष्ठ तथा विनाविभागीय मन्त्रीहरू भरतबहादुर केसी र किरण थापा रहेका छन्।
एमालेले सरकार छाड्नुको कारण कांग्रेससँग बढ्दो राजनीतिक असमझदारी रहेको बताइएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।