कृष्ण राउत
आषाढ शुक्ल एकादशीका (हरिशयनी एकादशी) दिन आज हिन्दू धर्मावलम्वीहरुले आआफ्ना घरआँगनमा तुलसीको मोठ, गमलामा जेष्ठ शुक्ल एकादशीका दिन बिजारोपण गरी तयार भएको तुलसीको विरुवा रोप्ने प्रचलन छ । भगवान विष्णुको प्रतीकको रुपमा चिनिने तुलसीमा रोग प्रतिरोध क्षमता बढाउने गुण भएका जडिबुटी औषधीय गुण मानव स्वास्थ्यका लागी बहुउपयोगी मानिन्छ । त्यसैले आयुर्वेदमा तुलसिलाई औषधिको रुपमा प्रयोग गरिन्छ ।
५ पत्ता तुलसी, सुठो, पिप्ला, मरिच २ ग्राम १ लिटर पानीमा उमालेर घरका सबै परिवार सदस्यहरुले नियमित सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सुझाव छ । तुलसीको पत्र, पुष्प, बिज मूल औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । प्रतिश्याय, ज्वर, स्वरभेद, कास, श्वास, रक्त विकार, अग्निमांद्यमा तुलसी उपयोगी मानिन्छ । तुलसीको नियमित प्रयोगले पाचनप्रणाली सक्रिय बनाउन मद्दत गर्दछ ।
फस्टाएको तुलसीले कार्बनडाइअक्साइड, कार्बनमोनो अक्साइड जस्ता विषमय वायुलाई सोषी प्रचुर मात्रामा अक्सिजन प्रवाह गरी करिब ४ सय मिटर वरीपरीको दुषित हावालाई शुद्धिकरण गर्दछ । हावालाइ नै शुद्धिकरण गरेर विभिन्न भाइरस लगायतका रोगबाट बचाउने गुण भएको वनस्पती तुलसी हो ।
ज्ञान, बैराग्य भक्ती र भक्तीको प्रतीक मानव जीवनले प्राप्त गरेको विज्ञानलाई सम्पूर्ण भावमा परिणत गराई सकारात्मक रुपमा प्रयोग गर्नुको शाब्दिक अर्थ नै तुलसी हो । आयुर्वेद ग्रन्थअनुसार यसको गुण–लधु, रुक्ष, रस–कटु, तिक्त, विपाक–कटु, विर्य–उष्र्ण हुन्छ ।
तुलसीका फाइदाहरुः
-तुलसी अक्सिजन को मूख्य श्रोत हो ।
–ग्रहण आदिबाट पृथ्वीमा आउने विकिरण शुद्ध पार्न मद्दत गर्छ ।
–शरीरलाई आवश्यक पर्ने अक्सिजन पुर्याइ अक्सिजनको कमीबाट लाग्न सक्ने समस्याबाट बचाउँछ ।
–बालबालिकाहरुको लागि शारीरिक मानसिक अवस्था राम्रो बनाई पढाइमा तेज बढाउन र स्मरण शक्ति बढाउँछ ।
–शयनकक्ष वरिपरि तुलसीको विरुवा भएमा गहिरो निन्द्रा लाग्छ । खराब सपना देख्नबाट मुक्त बनाउँन मद्दत गर्दछ । घरको आगनमा रोपिएको तुलसीले घर वरिपरि र घरको कोठा कोठामा अक्सिजन प्रवाह गर्छ ।
–सकारात्मक सोचको विकास गरी खराब बानी हटाउँछ ।
– तुलसी पत्ता नियमित सेवन गर्नाले श्वास कास समस्या निको पार्छ ।
–तुलसी भएको घरमा झै झगडा नहुने विश्वास छ ।
–तुलसीको वरिपरि भूत, प्रेत, मसान, पिचास नआउने विश्वास दैविक विधामा छ । तुलसी भएको घरमा बसोवास गर्ने मानिसलाई ऎठन हुदैन ।
–स्थानीय अन्धविश्वास भाषामा शरीरमा बोक्सीले टोकेर निल डाम, धब्बा आयो भनिन्छ । तर बोक्सिले टोकेर निलडाम बस्ने भन्ने होइन । अक्सिजनको कमीले गर्दा शरीरमा नीलडाम आउने गर्छ । तुलसी भएको घरमा बस्ने मानिसलाई हावाबाटै अक्सिजनको मात्रा पूर्ण हुने हुँदा त्यस्तो समस्या देखिदैन ।
–शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्छ ।
–छालाको रोग लाग्न दिन्न ।
–तुलसीमा एन्टी अक्सिडेन्ट, एन्टीभाइरल तत्व पनि पाइने आयुवर्देमा उल्लेख छ ।
–कोरोना कहरमा विश्वभर महामारीको रुप लिइरहँदा नेपाल, भारत, चीन लगायत विश्वका धेरै मुलुकले तुलसीको प्रयोग बढाएका थिए । तुलसीमा रोग प्रतिरोध क्षमता बढाउने गुण भएकोले कोरोना लगायत अन्य भाइरस विरुद्ध लड्न महत्वपूर्ण भूमिका रहन्छ ।
–तुलसीमा बहुआयामिक फाइदा भएकाले नियमित चियाको रुपमा प्रयोग गरौं । रोग प्रतिरोध क्षमता बढाऔं र स्वस्थ्य रहौं ।
(लेखक राउत राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (RAAN ) का. बा. अध्यक्ष हुन् ।)
