सांसद यज्ञबहादुर बोगटीलाई पनि कोरोना भाइरसको संक्रमण
ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आज पनि उल्लेख्य हुने भएको छ । मुलुकका विभिन्न जिल्लाबाट प्राप्त समाचार अनुसार आज दिउसो २ः२० बजेसम्म कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ । प्राप्त समाचार अनुसार पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै जिल्लाको विभिन्न ठाउँका २४ जनाको मृत्यु भइसकेको थियो ।
त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मंगलबार राति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि विरामी उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा मृत्यु भएको पहिलो घटना हो ।
समाचार अनुसार कोरोना भाइरस संक्रमणकै कारण सुनसरीमा ७१ वर्षीया महिलाको आज बुधबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।
धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । दम र मुटुको समस्याबाट पिडित उनको साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना भाइरसका कारण मुलुकभर ११४ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु पुष्टि भइसकेका ४ सहित आज ११८ भन्दा बढी मृत्यु हुने अनुमान गरिएको छ ।
सांसद यज्ञबहादुर बोगटीलाई पनि कोरोना भाइरसको संक्रमण

यसैबीच संघीय संसद सदस्य यज्ञबहादुर बोगटीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी अछाम–२ बाट निर्वाचित संघीय सांसद हुन । उनी ललितपुरमा बस्दै आएका थिए । उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।
त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको हो । साउन १७ गते अछामबाट फर्किएका उनी साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका बुझिएको छ ।