काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) जन्तर-मन्तरबाट थालेको ‘चलो संसद्’ अभियानको क्रमले थप राजनीतिक मोडहरू लिएको छ । दिल्लीमा शिक्षा सुधार, बेरोजगारी, प्रश्नपत्र चुहावट र जनजीविकाका मुद्दालाई लिएर उठेको आन्दोलनप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ।
लोकतान्त्रिक समाजमा नागरिकहरूले आफ्ना जायज माग राख्न, शान्तिपूर्ण रूपमा विरोध गर्न र राज्यसँग जवाफदेहिता माग्न पाउने अधिकार आधारभूत लोकतान्त्रिक मूल्य हो।
जब युवाहरू, विद्यार्थीहरू, श्रमिकहरू र आम नागरिकहरू अन्याय, भ्रष्टाचार तथा प्रशासनिक असक्षमताका विरुद्ध सडकमा उत्रिन्छन्, त्यो केवल एउटा समूहको आन्दोलन हुँदैन; त्यो न्याय, पारदर्शिता र उत्तरदायित्वको पक्षमा उठेको सामूहिक आवाज बन्छ। कुनै पनि देशको भविष्य उसका युवाहरूको आशा, अवसर र विश्वासमा निर्भर हुन्छ।
यदि शिक्षा प्रणाली कमजोर बनाइन्छ, रोजगारीका अवसरहरू सीमित हुन्छन् र राज्यका निकायहरू जनताप्रति उत्तरदायी हुँदैनन् भने असन्तुष्टि स्वाभाविक रूपमा आन्दोलनका रूपमा प्रकट हुन्छ।
त्यसैले आन्दोलनलाई दमन, बदनाम वा षड्यन्त्रको दृष्टिले होइन, त्यसले उठाएका प्रश्नहरूको गम्भीर अध्ययन र समाधानको दृष्टिले हेर्न आवश्यक छ। हामी आन्दोलनरत जनसमुदायको लोकतान्त्रिक अधिकारको सम्मान गर्दै उनीहरूको न्यायपूर्ण मागप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं।
संवाद, पारदर्शिता र जनउत्तरदायित्व नै दीर्घकालीन समाधानका आधार हुन्। जनताको आवाजलाई सुन्ने र सम्बोधन गर्ने राज्य नै वास्तवमा बलियो, लोकतान्त्रिक र जनमुखी राज्य हो।