काठमाडौं। चार महिनायता नेपालको पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण नियन्त्रणउन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएको पशुसेवा विभागले जनाएको छ।
विभागका अनुसार विभिन्न जिल्लाबाट शंकास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नकारात्मक आएको छ। विभागले यसलाई संक्रमण नियन्त्रणमा आएको स्पष्ट संकेतका रूपमा व्याख्या गरेको छ।
संक्रमण पुनः फैलिन नदिन निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) मापदण्डको कडाइका साथ कार्यान्वयनलाई निरन्तरता दिइएको विभागले जनाएको छ। यद्यपि जोखिम पूर्ण रूपमा टरिनसकेको नभएकाले किसानलाई जैविक सुरक्षा मापदण्ड पालना गर्न, शंकास्पद लक्षण देखिए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानी जारी राख्न आग्रह गरिएको छ।
यस वर्ष बर्डफ्लु पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएपछि सरकारले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रण अभियान सुरु गरेको थियो।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ बाट सुरु भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको थियो। महामारीबाट व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिज प्रभावित भएका थिए।
काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, भक्तपुरमा ४५, ललितपुरमा १५ र काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए। उपत्यकाका जिल्लामध्ये भक्तपुर सबैभन्दा बढी प्रभावित बनेको थियो। विभागका अनुसार ललितपुरमा असार २५ गतेपछि तथा काठमाडौं र भक्तपुरमा साउन १ गतेयता नयाँ संक्रमण देखिएको छैन।
महामारी नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको छ। तीमध्ये काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागले जनाएको छ।
प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ। विभागका अनुसार हालसम्म १०४ जना कृषक तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकिएको छ।