ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुलुकभर थप तीन जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रुपन्देहीमा २ जना र विराटनगरका एक जना रहेका छन् । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा ३७ वर्षीया संक्रमित महिला र ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४३ बर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उनको घर मोरङको विराटनगर–११ हो ।
पछिल्लो पटक थपिएका ३ कोरोना संक्रमित सहित मुलुकभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २७४ पुगेको छ । पछिल्लो पटक थपिएका मृत्यु भएका कोरोना संक्रमितको तथ्यांक भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
हिजो शुक्रबार मात्रै कोरोनाबाट काठमाडौंका ४ सहित १३ जनाको मृत्यु पुष्टि भएको छ । हिजो मृत्यु भएका मध्ये काठमाडौंका ४ जना, रुपन्देहीका ३ जनाको मृत्यु भएको छ । त्यसैगरी १३ जनामा चितवन, मकवानपुर, धनुषा, बारा, पाल्पा र सुर्खेतका एकएक जनाको पनि मृत्यु भएको थियो ।