ई–आर्थिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटक पटक दोहोर्याए। मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावीसमेत गरे ।
उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ। त्यो हल्लामा कुनै सत्यता छैन। त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऔँ। तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु । मुलुकको अर्थतन्त्रमा चुनौतीहरु छन् । ती चुनौतीहरुलाई हामीले सामना गर्नु पर्दछ ।’
उनले थपे, ‘हाम्रो अर्थतन्त्र सबल अर्थतन्त्रको रुपमा, गतिशील अर्थतन्त्रको रुपमा, लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढ्न सक्दछ । हाम्रो यो अर्थतन्त्रलाई मजबुद बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढ्यौँ भने हाम्रो अर्थतन्त्र सबल हुनेछ ।’
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे ।