ई–आर्थिक, काठमाडौं । नेपालमा थप ९२७ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा नयाँ थपिएकासँगै कुल संक्रमित ३६ हजार ४५६ पुगेको जनाएको छ ।
आज थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १० हजार २२९ वटा पीसीआर परीक्षण भएको छ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३५० जना , ललितपुरका ११ जना र भक्तपुरका ५४ जना रहेका छन् ।
होम आइसोलेसनमा छ हजार ४४६ जना र संस्थागत आइसोलेसनमा नौ हजार ५७३ जना रहेका छन् । आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेर उपचार भइरहेकाे छ ।
यसैगरी गत २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १६९ रहेको छ । यसरी अहिलेसम्म कोरोना निको हुने कुल २० हजार २४२ जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल १९५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।