ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दीर्घकालीनरुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर जान नसकिने निस्कर्षमा पुगेका छन् । नेपाली राजनीतिको भयंकर कुटिल खेलाडीको रुपमा प्रचण्डले आफूलाई प्रमाणित गरेपछि ओलीमा यस्तो सोच आएको हो ।
प्रचण्डको ब्यक्तित्वलाई आफ्नो स्वार्थमा उपयोग गर्न सकिने बिश्वासका साथ पार्टी एकीकरण गरेर बहुआयामिक लाभ लिएका ओली पछिल्लो समयमा प्रचण्डसँग ‘नसकिने’ रहेछ भन्ने निस्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ । अहिलेको संकट टार्न प्रचण्ड–माधब समूहको मागअनुसार ‘सहमति र सहकार्य’ झल्कने गरी अधिकारको बाँडफाँड गरेर जाने र महाधिबेशनमा पुगेर वारपार गर्ने ओलीको रणनीतिक चाल छ ।
प्रचण्ड निकै कुटिल खेलाडी रहेकोले उनीसँग लामो सहकार्य गर्दा आफ्नो समूहले निकै ठूलो नोक्सानी ब्यहोर्नु पर्ने ओलीले आफू निकट नेताहरुसँग भन्न थालेको स्रोत बताउँछ । प्रधानमन्त्रीजस्तो देशको कार्यकारी अधिकार हातमा रहेको र पहिलो अध्यक्ष भएर पार्टीको पनि कार्यकारी अधिकार लिएको बेला त यसरी ‘कर्नर’ पु¥याउन सक्नेले भोलि अधिकारबिहीन अबस्थामा लड्न नसकिने ओलीको निस्कर्ष देखिएको स्रोतको भनाई छ ।
‘अहिले म सम्पूर्णरुपले अधिकार सम्पन्न छु । यो बेला आशा, लोभ र स्वार्थले सबै नजिक हुन चाहन्छन् । हत्तपत्त बिरोधम उत्रिहाल्न सक्दैनन् । आफूले पनि बिभिन्न प्रलोभन दिन सकिन्छ ।’ ओलीले आफूनिकटसँगको निस्कर्ष सुनाउँदै भनेका थिए ‘भोली अधिकारबिहीन भएको बेला कसले टेर्छ ? त्यसबेला म मात्र होइन, मेची महाकालीको सिंगो हामीसँगको टिम नै संकटमा पर्छ । त्यसैले ‘उपयुक्त समय’सम्म मात्र प्रचण्डसँग सहकार्य हुन्छ ।’ यो ‘उपयुक्त समय’ भनेको महाधिबेशन भएको बताइन्छ ।
पर्टीभित्रको अन्तरबिरोधको हल गर्न ओली र प्रचण्डको सहमतिमा अहिले महासचिब बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ । ओली समूह अल्पमतमा रहेको यो कार्यदलका बिषयमा ओलीनिकटले नै बिभिन्न शंका उपशंका ब्यक्त गर्दै जिज्ञासा राखेपछि ओलीले आफ्ना भित्रियाहरुलाई यसबारेमा प्रष्ट पारेका थिए । कार्यदल आफूमाथिको तत्कालको संकट टार्ने संयन्त्र बनाएको उल्लेख गर्दै ओलीले यसमा बहुमत अल्पमतले केही फरक नपर्ने भन्दै आश्वस्त पारेका थिए । सैनिक संरचनाजस्तो अनुशासनमा संचालन भएको ओली समूहमा अहिले यही कुरा मेची महाकाली सन्देश प्रबाह गरिएको छ ।
अहिले प्रचण्ड र माधब नेपालबिच फाटो आएको प्रचार गर्ने र त्यसैमा खेल्ने ओली समूहको रणनीति छ । त्यसैले केही दिनअघिसम्म सामान्य शिष्टाचार र मर्यादासम्मको पालना नगरी प्रचण्डको उछितो काढेर गाली गलौज गर्नेहरु अहिले प्रचण्डको सुझबुझपूर्ण निर्णयले एकता जोगियो भन्दै प्रशंसा गरिरहेका छन् ।
ओलीनिकट भनेर चिनिने जिम्मेवार नेता, युवा, बिद्यार्थी, सन्चारकर्मीहरुले प्रचण्डलाई भन्न कुनै कुरा बाँकी राखेका छैनन् । आज तिनै ब्यक्तिहरु सामाजिक सन्जालमा दुई अध्यक्षको ‘बोल्ड डिसिजन’ भन्दै प्रचण्डको भक्तिगान सुरु गरिसकेका छन् । ‘प्रचण्डलाई अध्यक्ष भन्न त उनीहरुलाई लाज नै लाग्नु पर्ने हो । भारतीय दलाल, भ्रष्टाचारी, एमालेसँग मिलेर पार्टी बचाएको, हेगमा लैजान सकिन्छ भनेर निकृष्ट लान्छना प्रचण्डमाथि लगाइएको छ । समयक्रममा त्यसको जबाफ हामीले पनि दिनेछौं ।’ प्रचण्ड निकट एक युवा नेता भन्छन् ‘फेरि हामी यो प्रष्ट छौ कि उक्त लान्छना बालुवाटारकै योजनामा लगाइएका हुन ।’
ओलीले दीर्घकालीनरुपमा प्रचण्डसँग जान सकिदैन भन्नुको अर्थ महाधिबेशनसम्म जाऔ भन्ने रहेको स्रोतको भनाई छ । अबको महाधिबेशन एकताको महाधिबेशन भनिएता पनि बिचारको निरुपण गरिने हुदा त्यहाँ निकै ठूलो बैचारिक अन्तरसंघर्ष हुने बुझ्न सकिन्छ । ओलीले महाधिबेशनमा पूर्ब एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद –जबज) लाई नै नेकपाको मार्गदर्शन सिद्धान्त बनाउने प्रस्ताब लाने तयारी गरेको स्रोत बताउँछ । आफूले नलगे पनि आफू निकट शंकर पोखरेल वा ईश्वर पोखरेलका तर्फबाट जबज मार्गदर्शन सिद्धान्तको रुपमा प्रस्ताब पेश गर्न लगाएर जबजमाथि घनीभूत बहस गराउने र पूर्बमाओबादी पनि यही बाटोमा आएको निस्कर्षमा लैजाने ओलीको दाउ देखिन्छ ।
जबजको बहस आउनेबित्तिकै ९९ प्रतिशत पूर्बएमाले एक ठाउँमा उभिने ओलीको आकलन देखिन्छ । यसैले पूर्बएमालेलाई एक ठाउँमा ल्याएर प्रचण्डमाथि प्रहार गर्ने रणनीतिमा ओली छन् । यसका बहुआयामिक फाइदा हुने बताइन्छ । प्रचण्डले जबज माने आत्मसमर्पण गरेको ठहरिने छ र प्रचण्डले पुनः अहिलेको जसरी टाउको उठाउन पाउने छैनन् । दोस्रो जबजका नाममा पूर्बएमालेहरु एक ढिक्का हुनेछन् । जसले अहिलेको जस्तो पूर्बएमालेमा सीधा चिरा पर्ने छैन । तेस्रो यदि प्रचण्डले जबज कुनै हालतमा मानेनन् भने आ–आफ्नो बाटो लगौं भनेर प्रस्ताब गर्ने । अहिले नै के देखिन्छ भने प्रचण्ड र पूर्बमाओबादीहरु कुनै हालतमा पनि जबजलाई स्वीकार गर्दैनन् ।
यसैलाई आधार बनाएर प्रचण्डसँग सम्बन्ध बिच्छेद गर्ने ओलीको मनस्थिति रहेको स्रोतले जानकारी दिएको छ । ‘ओलीमा यही सोच बिकास भएकाले प्रचण्डसँग दीर्घकालीनरुपमा संगै हिड्न सकिदैन भनिएको हो ।’ स्रोत भन्छ ।