ई–आर्थिक, काठमाडौं । पछिल्ला दिनहरुमा नेपाल–भारत सीमामा विवाद चर्कन थालेको छ । सीमामा विवादको विषयलाई लिएर भएको झडपमा गोली गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ । सो झडपमा परी दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।
पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टको क्षेत्रमा बिहान ९ बजे अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झडप भएको र त्यस क्रममा गोली चलाइएको सर्लाहीका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले बताएका छन् ।
‘भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको र त्यसक्रममा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि हतियार फिर्ता लिने क्रममा १५ राउण्ड गोली प्रहार गरिएको हो’, श्रेष्ठले जनाए ।
घटनाका बारेमा थप जानकारी दिँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भने, ‘भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको हो। सीमा नाकाहरुमा तैनाथ सुरक्षाकर्मीहरुले तस्करी रोकेकै कारण उनीहरुमाथि आक्रमण भएको देखिएको छ ।’
प्रहरीको हतियार खोसेको भनिएको भारतको बिहारको सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गत लालबन्दी घर भएका एक ४५ वर्षीय पुरुषलाई नेपाली प्रहरीले पक्राउ गरेको छ ।
भारतको जानकी नगर र नेपालको नारायणपुरको बीचमा अवस्थित सीमा स्तम्भ नम्बर ३१९र२४ मा उक्त हिंसात्मक घटना भएको हो ।
एसपी श्रेष्ठका अनुसार भारतबाट २०र२५ जनाको समूहलाई सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्टले फर्काएको र त्यसको केही बेरमा डेढ सय जनाको टोली आएपछि’ विवाद बढेको हो ।
सशस्त्रतर्फ घाइते हुनेहरूमा एक हवल्दार र दुई जना प्रहरी जवान रहेको र उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । उक्त सीमा सुरक्षा चौकीमा नौ जना प्रहरी कार्यरत रहेका थिए ।
सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते केही व्यक्ति भारततिर भागेको बताएका छन् ।
स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार घटनास्थल नारायणपुर नेपाल भारतबीच विभिन्न सामानको अवैध ओसारपसार र तस्करीका लागि चर्चित बाटो मानिन्छ ।
कोरोनाभाइरसको महामारीका कारण देशभर सरकारले लकडाउन लागु गरेको बेला त्यहाँ पनि मानिसहरुको आउजाउ रोक्न सशस्त्र प्रहरीले सुरक्षा तथा निगरानी चौकी स्थापना गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी जीसीले भने ‘घटनाका सम्बन्धमा भारतीय समकक्षीसँग संवाद भइरहेको छ । र घटनास्थलको अवस्था अहिले सामान्य छ । त्यहाँ थप सुरक्षा बल तैनाथ गरिएको छ ।’
भारत सीतामढीका एसपी अनिल कुमारले जनाए अनुसार सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गतको पिपरा परसाइ बस्ने एक २५ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनकी छातीमा गोली लागेको बताइएको छ ।
घटनामा घाइते भएका अन्य दुईजनाको उपचार सितामढी अस्पतालमा भइरहेको उनले जनाएका छन् । उनीहरूको खुट्टामा गोलीको चोट लागेको अधिकारीहरूले बताएका छन् ।
घटनास्थलमा भारतीय सीमा सुरक्षा बल एसएसबी र सीतामढी पुलिसको सङ्ख्या बढाइएको एसपी अनिल कुमारले बताए । उनले भने, ‘घटनास्थल र वरपरको क्षेत्रमा निगरानी बढाइएको छ ।’