ई–आर्थिक, नेपालगन्ज : बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २ का एक जना नर्स र पत्रकारलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एकै घरका उनीहरु नाताले श्रीमान श्रीमती हुन् ।
गत ११ जेठमा नर्सलाई कोरोना संक्रमण भएपछि संक्रमित नर्सका श्रीमान र दुई सन्तान (छोरी र छोरा) को थ्रोट स्वाबबाट कोरोना परीक्षण गर्दा श्रीमान पत्रकारलाई पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले संक्रमित उनीहरु दुबैजनालाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । पत्नीलाई कोरोना संक्रमण भइसकेपछि आफ्नो र छोराछोरीको स्वाब संकलन गरिएकोमा आफ्नो मात्रै पोजिटिभ आएको संक्रमित पत्रकारले जानकारी दिए । छोरा–छोरीमा भने संक्रमण नदेखिएको बुझिएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या नभएको र दुवैको स्वास्थ्य अवस्था राम्रो भएको ती पत्रकारले जानकारी दिए ।
आफूलाई कोरोना संक्रमण भएको भन्दा पनि स्थानीय तहका पदाधिकारीले स्वास्थ्य अवस्थाबारे कुनै चासो नदेखाएकोमा उनीहरुले गुनासो पोखे ।
‘कोरोना पोजिटिभ भएको खबर पाउँदा सुरुमा डर लाग्यो, ुखुट्टा थर्थर काँपे, कोरोनाबारे सबै कुरा थाहा पाएका हामीलाई त यस्तो मनोवैज्ञानिक त्रास हुँदो रहेछ । सर्वसाधारणको अवस्था के हुन्छ होला ? ती पत्रकारले भने । संक्रमितलाई सान्त्वना, प्रोत्साहन र हौसला आवश्यक महशुस भएको तर आफूहरुलाई जनप्रतिनिधि कसैले पनि सान्त्वना नदेखाएको भन्दै चित्त दुखाए ।