मोहन बुढाऐर, आश्विन १८, २०७६, धनगढी — कैलालीको कैलारी गाउँपालिका–१ मनाउँको एउटा थारू निवासमा छाकमै २० किलो चामल र उत्तिकै परिमाण हाराहारीको तरकारी पाक्छ । परिवारमा बिहानको खाना खाइसकेपछि बेलुकाको पकाउने मेलो सुरु हुन्छ । अंग्रेजीलाल कठरिया थारूको परिवारमा ४९ जना छन् ।
सबैले भोजन मूल घरको एउटै भान्सामा गर्छन् । साँझ र बिहान पाक्ने भात र तरकारी बासी बस्न पाउँदैन । दाल विरलै पकाउँछन् । थारू समुदायमा भातसँग तरकारी मिसाएर खाने चलन भएकाले पनि दाल कमै पकाउने गरेका हुन् । रोटीका लागि पिठो पनि छाकमा २०/२२ किलो चाहिन्छ ।
पिरो बढी खान्छन् । चट्नी र अचार खुर्सानीकै बनाइन्छ । कहिलेकाहीँ एक किलो खुर्सानीे एकै दिनमा सकिन्छ । चाडबाडमा चेलीबेटी र आफन्त घरमा आउने भएकाले एकै दिन करिब एक क्विन्टल रासन सकिन्छ । एउटा सानो परिवारका लागि वर्ष दिनको रासन हो, एक क्विन्टल चामल । दसैंका लागि पनिअंग्रेजीलालले राम्रै जोहो गरेका छन् । ‘दसैंका लागि ८ क्विन्टल चामल बनाएर भकारीमा राखेका छौं,’ उनले भने, ‘धान कुट्न आफ्नै मिल भएकाले पहिले पहिलेभन्दा अलि सजिलो छ ।’ चामल मिलमा आफ्ना लागि मात्रै दैनिक एक क्विन्टल धानकुट्ने गरेको उनी बताउँछन् । ‘पहिला घरका चार जना महिलाले दिनभरिको काम नै ढिकी (घरेलु प्रविधि) मा धान कुट्ने हुन्थ्यो,’ उनले भने, ‘मिलले कुट्न थालेपछि अरू काम गर्न फुर्सद मिलेको छ ।’
परिवारलाई खाना पकाउन तीन जना महिला सदस्य भान्सामा काम गर्छन् । उनीहरूले बिहानदेखि खाना पकाउने, पस्कने, भाडाबर्तन धुने र पानी ओसार्दा बेलुकाको ९ बज्छ । ‘बिहान ५ बजे उठेर फेरि चुल्हो बाल्न सुरु गरिहाल्नुपर्छ,’ भान्साको काममा खटिएकी नातिनी बुहारी किस्मतीले भनिन्, ‘चुल्होचौकोको बाहेक अर्को काम गर्न’ पनि पर्दैन ।’ उनका अनुसार परिवारका २/४ जना सदस्यको काम बाहिरको हुन्छ । उनको सम्झनामा घरमा दैनिक १५ किलो घटी कहिल्यै चामल पाकेको छैन ।‘बिहान ७ बजे खाना तयार हुन्छ । जसको जति बेला खाने समय हुन्छ आउँछन् र खान्छन् ।
आफ्नो काममा लाग्छन्,’ उनी भन्छिन्, ‘को खाएको–भोको आफूलाई केही थाहा हँ’दैन । खाना मागेपछि दिने हो, सकियो भन्न मिलेन, तुरुन्तै पकाएर पनि दिन सक्नुपर्छ ।’ सानो परिवारबाट आएकाले उक्त घरमा भित्रिएपछि ठूलो जहानबीच भान्सामा अभ्यस्त हुन नै आफूलाई केही महिना लागेको उनले बताइन् ।
भान्सामा तीन महिलाले जिम्मेवारी विभाजन गरेर काम गर्छन् । कसैले रोटी मात्रै पकाउँछन्, कसैले भात मात्रै । कसैले पानी भर्ने, भाडाबर्तन धुने र घरको सरसफाइ गर्ने काम । घरमा महिला सदस्यमध्ये तीन/तीन जनाका लागि भान्साको पालो तीन महिनामा फेरिन्छ । तीन महिनासम्म भान्साका काम सम्हालेकाहरू बाहिर खेतबारीमा काम गर्न जान्छन् । बाहिरको काम सम्हालेकाले भान्साको पालो लिन्छन् ।
परिवारमा महिलाको मात्रै नभई स्कुले केटाकेटीबाहेक घरका पुरुष वयस्क सदस्यको पनि कामको जिम्मेवारी बाँडफाँट हुन्छ । ‘आ–आफ्नो क्षमता र सीपबाट आम्दानीको पेसामा लाग्नुपर्छ,’ अंग्र्रेजीका माहिला छोरा भिकुरामले भने, ‘बाहिर कमाउन नसक्नले खेतीपातीको काम गर्न’पर्छ ।’ कामको जिम्मेवारी सबैले बहन गर्दा परिवारमा मनोमालिन्यको अवस्था नरहने उनको अनुभव छ । ‘जिम्मेवारीबाट भागेपछि परिवार फुट्ने अवस्था आउँछ ।
ठूलो परिवारमा कहिलेकाहीँ सानोतिनो झैझगडा मनमेटाउ त हुन्छ,’ उनले थपे, ‘घरमूलीले ज्येष्ठ नागरिकको राय सल्लाहबाट समस्या समाधान गर्नुपर्छ ।’ उनका अनुसार परिवारमा बैंकिङ तथा नगदका कामकारबाही घरमूलीको नाममा मात्रै हुन्छ । घरमूलीकै निर्देशन र सल्लाहमा घरपरिवारका सबै सदस्यले चल्नुपर्छ ।
थारू परिवार मात्रै होइन समाजमै पनि घरमूली छान्ने चलन छ । समुदायमा घरको जेठोभन्दा पनि बाठो, पढेलेखेको, देश दुनियाँका बारेमा जानेबुझेको सदस्यलाई घरमूली छनोट गरिन्छ । माइला भाइका माइलो छोरा डिल्लीराज अंग्रेजी परिवारका घरमूली छन् । थारू समुदायमा घरमूली र गाउँको भलमन्सा (मुखिया) माघीको दिन छनोट गर्ने चलन छ । यिनको घरमा ज्येष्ठ ७८ वर्षे अंग्रेजीपछि सोझै डिल्लीराज घरमूली हँ’दै आएका छन् । ‘परिवारका सबै सदस्य मिलाएर बसाउन सक्ने घरमूलीमा हुनुपर्ने पहिलो खुबी हो,’ भिकुरामले भने, ‘तीनपुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी, बुहारी र नातिनातिना एकै छानामुनि छौं ।’
परिवारका एउटै घरमा नअटाउने भएपछि लहरै तीन घर थपिएको छ । तीनै घरमा चार भाइका छोरा, बुहारी बस्छन् । एउटा घरमा भान्सामात्रै छ ।
जेठा अंग्रेजीलालका सात छोरा–बुहारी, दुई छोरी र नातिनातिना गरी २४ जना छन् । माइलो रामचन्दरका तीन छोरा, दुई बुहारी र बच्चाहरूसहित आठ जना, साहिँला लक्ष्मणकी श्रीमती र दुई छोरी छन् । लक्ष्मणको गएको साउनमा निधन भयो । काहिँलो रामशंकरका तीन छोराछोरी, नातिनी गरी ६ जना, कान्छा दयाशंकरका तीन छोरासहित पाँच जना छन् । ‘हाम्रो सगोल परम्परा हो, जो अहिले धेरै परिवारले धान्न सकेका छैनन्,’ अङ्ग्रेजीलाल भन्छन्, ‘मन मिलेर बसेसम्म कसैलाई पनि परिवार टुक्रियोस् भन्ने लाग्दैन । बुबाका भाइहरू फुट्दा मेरो मन रोएको थियो ।’
पिताका बेलाको संयुक्त परिवारको घर साबिक रामपुर गाविसको भुइँयाफाँटामा रहेको उनले बताए । दाजुभाइ छुट्टिएर अंशमा ठगिएपछि अंग्रेजीका पिता दुखीराम मनाउँ आएका थिए ।
‘बुबाको भागमा कम जग्गा पारियो,’अंग्रेजीलालले भने, ‘बुबाका हामी पाँच छोरा–बुहारीका नातिनातिना गरी १७/१८ जनाको परिवार पाल्नै धौ धौ भयो । भागमा परेको थोरै जग्गामा फलेको अनाज वर्षदिन नपुग्ने भएपछि बुबाले यता बसाइँ सारेका हुन् ।’ यहाँ पनि उनको नामको जग्गा छैन । बनेको घर ऐलानी पर्तीमा छ ।
‘उहिले घरबासका लागि फाँडेको ५ कट्ठा ऐलानीको लालपुर्जा पाएका छैनौं,’ छोरा भिकुरामले भने, ‘सरकारले घरबास रहेको ५ कट्ठा जमिनको लालपुर्जा देओस् भन्ने हाम्रो चाहना हो ।’ उनको परिवारले अधियाँ र ठेक्कामा १२ बिघा जति जमिन कमाउँछ । त्यसैबाट परिवारलाई खान पुग्ने गरेको छ । ‘अधियाँबाट धान र गहुँ डेढ/दुई सय बोरी आउँछ,’ उनले भने, ‘खानलाई ठिक्क पुग्छ । बाँकी खर्च बाहिरबाट भएको आम्दानीबाट चल्ने गरेको छ ।’ एक बिघा जग्गामा तरकारी लगाउने गरेका छन् । आफूलाई पुगेर उब्रने बेचिन्छ, त्यसबाट केही आम्दानी पनि हुने गरेको छ ।
अर्काको जग्गा कमाएको अनाजले चल्दै आएको यो ठूलो परिवारका एक जना मात्रै सरकारी जागिरे छन् । रामचन्दरका जेठा छोरा बालीचरण स्वास्थ्य चौकीमा अहेब छन् । उनले गाउँमै औषधि पसल पनि थापेका छन् । परिवारका सबै सदस्यको स्वास्थ्योपचारको जिम्मेवारी उनैले सम्हालेकाछन् । उनको परिवारले किराना पसल पनि चलाएका छन् ।
परिवारको एक भाइका परिवारले कुटानीपिसानीको मिल चलाउँछन् । तीनवटा ट्र्याक्टर र गहुँ काट्ने आफ्नै आधुनिक मेसिन छ । खेतीपातीको कामबाहेक ट्र्याक्टर र गहुँ काट्ने मेसिन भाडामा पनि लगाउने गरेका छन् । त्यसबाट हुने आम्दानीले घरखर्चलाई निकै सहयोग पुगेको भिकुराम बताउँछन् । आम्दानी र खर्च बराबर नै हुने भएकाले पर्वहरू समस्या लिएर आएजस्तो उनलाई लाग्छ । ‘माघी र दसैं दशा नै भएर आउँछन् । घरकै अनाज भएकाले नगद खर्च देखिँदैन तर एउटै पर्वमा एक लाखभन्दा बढी खर्च हुन्छ,’ उनले भने, ‘चेलीबेटी रिस्तेदार गरी आउने खाने ७०/८० जना पुग्छन् ।
एक दिनको पर्वका लागि दुई छाकमा करिब ७०/८० किलो चामल, ४०/५० किलो पिठो, ३०/४० किलो तरकारीको जोहो गर्न’पर्छ ।’ लुगा कपडामा हुने खर्च ७०/८० हजार पुग्छ । मासुका लागि घरमै बंगुर, खसी, हाँस र कुखुरा ढालिन्छ । पर्वका लागि घरमै मदिरा बनाइन्छ । ‘हाम्रो परिवारमा दारु खाने थोरै छन् भनेर के गर्ने,’ उनी भन्छन्, ‘पाहुनापासालाई भने पनि इन्तजाम गर्नैपर्छ ।
‘