२०८३ साउन ९ शनिबार

रास्वपा सरकार फेर्ने मात्र होइन, राजनीतिक संस्कार बदल्ने अभियानमा छ : स्वर्णिम वाग्ले

ई आर्थिक    आइतबार, असार ७ २०८३
798
Shares
रास्वपा सरकार फेर्ने मात्र होइन, राजनीतिक संस्कार बदल्ने अभियानमा छ : स्वर्णिम वाग्ले

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा केवल सरकार परिवर्तनको अभियानमा नभई समग्र राजनीतिक संस्कार परिवर्तनको अभियानमा केन्द्रित रहेको बताउनुभएको छ।

पार्टीको चौथो वार्षिकोत्सवका अवसरमा चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा प्रशासनिक प्रोत्साहन संरचना रहेको बताउनुभयो।

उहाँले इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै विवेक, विधि र नियममा आधारित शासन प्रणालीको आवश्यकता औँल्याउनुभयो।

“हामी विवेक, विधि र नियममा आधारित शासनतर्फ जान चाहन्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ,” उहाँले भन्नुभयो, “रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ। आलोचना मात्र होइन, विकल्प दिनुपर्छ र विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ।”

डा. वाग्लेले रास्वपा कुनै विभाजन वा राजनीतिक सम्झौताबाट जन्मिएको पार्टी नभई समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको आकांक्षाको लोकतान्त्रिक अभिव्यक्ति भएको दाबी गर्नुभयो।

विगतका आन्दोलनले लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर, उत्तरदायित्व र सार्वजनिक सेवाको प्रभावकारिता अपेक्षित रूपमा विकास हुन नसकेको उहाँको भनाइ थियो। निर्वाचन भए पनि उत्तरदायित्व कमजोर रहेको, राज्यको आकार बढे पनि क्षमता नबढेको तथा अधिकार विस्तार भए पनि सार्वजनिक सेवाको गुणस्तर सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

रास्वपा अब आन्दोलनमुखी दलबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले प्रश्न मात्र नभई समाधान र परिणाम पनि दिन सक्ने प्रमाणित गर्ने समय आएको बताउनुभयो।

उहाँले रास्वपाले परिकल्पना गरेको नेपालको मार्गचित्र प्रस्तुत गर्दै बहुमतले शासन गर्ने तर अल्पमत पनि सम्मानित हुने उदार लोकतन्त्र, पहुँचभन्दा क्षमतामा आधारित प्रतिस्पर्धी अर्थतन्त्र र प्रतिभाका आधारमा भविष्य निर्धारण हुने समन्यायिक समाज निर्माणको पक्षमा पार्टी रहेको स्पष्ट पार्नुभयो।

युवाहरूले अवसरका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न, किसान, श्रमिक र उद्यमीलाई सम्मानजनक वातावरण सिर्जना गर्न तथा नेपाललाई आत्मविश्वासी र समृद्ध राष्ट्रका रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

डा. वाग्लेले रास्वपाको प्रथम महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको सुरुआतका रूपमा चित्रण गर्दै निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ र संरक्षणवादबाट प्रतिस्पर्धातर्फको यात्राको उद्घोष भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij