ई- आर्थिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिने निर्णय गरेको बताएका हुन्।
मुख्यमन्त्री लामाले संवैधानिक रूपमा राजीनामा गर्नुपर्ने कुनै कारण नभएको प्रस्ट पारे। उनले भने , “पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा, र पार्टीमा विधिसम्मत कार्यशैली कायम राख्न अवरोध नहोस् भनेर मैले मार्गप्रशस्त गरेको हुँ। पार्टीलाई भाँडभैलोमा जान नदिन यो निर्णय लिएको हुँ।”
उनले आजै प्रदेश प्रमुखसमक्ष उपस्थित भएर औपचारिक रूपमा राजीनामा पत्र बुझाउने जानकारी दिएका छन् । उनी विरुद्ध गत साउन ९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
गत साउन १३ गते उनी बागमती प्रदेश संसदीय दलको नेताबाट पदमुक्त भएका थिए । ३७ सदस्यीय संसदीय दलमा गरिएको मत विभाजनमा लामा पक्षमा १५ मत मात्र परेको थियो भने २२ जना सांसदले उनको विपक्षमा मतदान गरेका थिए।