ई–आर्थिक, काठमाडौं । अबैध सामानको तस्करी सोचेभन्दा फरक माध्यमबाट पनि हुँदो रहेछ भन्ने नयाँ उदाहरण फेला परेको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा अबैध गाँजा तस्करी गर्दै तस्करले नयाँ प्रमाण प्रस्तुत गरेका छन् । प्राप्त समाचार अनुसार मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुले प्रहरीले सार्वजानिक समेत गरेको छ ।
विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जानकारी दियो ।