२०८३ साउन ९ शनिबार

भिजिट भिसामा मानव तस्करी मुद्दामा २२ जनाविरुद्ध मुद्दा दर्ता

ई आर्थिक    शुक्रबार, माघ १९ २०८०
6.3K
Shares
भिजिट भिसामा मानव तस्करी मुद्दामा २२ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : भिजिट भिसाका नाममा मानव तस्करी भएको विषयमा अनुसन्धान भएर अदालतमा मुद्दा पुगेको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध बिहीबार लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता समेत रहेका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता लगत्तै पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको सम्पत्ति लगायतमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लेखि पठाउने निर्णयसमेत भएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो ।

त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो ।

सेटिङमा भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने फरार रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो । त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर भएका अन्य व्यक्तिहरूमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गीता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल छन् । अध्यागमनमा सेटिङ मिलाउनेहरू सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, संखुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाइ छन् ।

प्रतिवादीहरूलाई लिखत कीर्तेको कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा संगठित अपराधमा लिखत कीर्ते कसुरको आधार सजाय गरी साढे १० वर्ष कैद सजाय र १ लाख ५ हजार जरिवानाको माग गरिएको छ ।

सेटिङमा पठाउँदा पुरुष भए प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिला भए प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको बयान प्रतिवादीहरुले दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij