उदयपुर सिमेन्ट उद्योगमा सक्षम व्यक्ति पाखा लगाइदा माताको ‘परेड’ र मदिरा भोज !
ई–आर्थिक, काठमाडौं । धेरै संभावना भएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा यतिखेर विभिन्न ‘जात्रा’हरु हुन थालेका छन् । बन्द र जीर्ण अवस्थामा रहेको झाडीमय उद्योगलाई आफ्नो विवेक प्रयोग गरेर नयाँ जीवन दिने गतिमा हिडाएका महाप्रबन्धक न्यौपानेले राजिनामा दिएसँगै उद्योगमा विभिन्न ‘जात्रा’हरु हुन थालेका छन् । २१ औं शताब्दीमा उद्योगमा लागेको भुत मुन्साउने भन्दै माताको ‘परेड’ गरिएको हो । यस विषयलाई उदयपुरबासीहरुले ‘जात्रा’ भनेको छन् ।
‘२९ महिना अघि उद्योग भुत लुक्ने झाडी जस्तै जीर्ण बनिरहेको थियो ।’ स्थानीय राजन कार्कीको प्रश्न थियो– ‘त्यतिवेला भुत मुन्साउनेहरु कहाँ थिए ?’ यो भुत मुन्साउने मेलो ‘बेमौसमि बाजा’ भएको उनको तर्क थियो । उद्योगका महाप्रबन्धक न्यौपानेले राजीनामा दिए लगतै गरिएको प्रसंग निकाल्दै स्थानीय कार्कीले भने– ‘उद्योगलाई भ्रष्टाचाररहित बनाएर अनुशासित र सुशासित बनाउन खोज्ने महाप्रबन्धक लक्षित माताको ‘परेड’ हो भने आयोजकको यो अक्षम्य अपराध हो ।’
उदयपुरका अर्का स्थानीय रमेश कार्कीले यसलाई जात्रा मात्रै होइन्, ‘कही नभएको जात्रा हाँडीगाउँ’ को उखानसँग मिलाई दिएका छन् ।
उद्योगभित्रकै एक अगुवा कर्मचारी भने यो कर्मलाई ‘विनास काले विपरित बुद्धि’ भन्छन् । उनी थप्छन्– ‘उद्योगमा विनासका लागि विपरित बुद्धि सुरु भयो ।’ उद्योगमा महाप्रबन्धक न्यौपानेका कार्यकाल भन्दा अगाडीका धेरै महाप्रबन्धकको कार्यकालको अध्ययन, अनुभव र मूल्यांकन गरिरहेका उनले सुशासित गर्ने नेतृत्व नहुँदा अबदेखि उद्योगमा त्यस्ता धेरै जात्राहरु हुने दाबी गरेका छन् ।
उद्योग बच्नु पर्छ र यसलाई बचाउनु पर्छ भन्ने मान्यताबाट अघि बढेका महाप्रबन्धक न्यौपानेलाई ‘भुत’ भनिएको हो भने यो दुखद् र अक्षम्य भएको उनीहरु सबैको तर्क छ ।
उद्योगमा सुधारका थुप्रै कामलाई अगाडी बढाएका महाप्रबन्धक न्यौपानेलाई सुधारका काममा ‘निरन्तर तगारो’ आउन थालेपछि उनले केही दिन अघि मात्र राजीनामा दिएका थिए । यद्यपी उद्योग मन्त्री विदेशमा रहेकाले उनको राजिनामा स्वीकृत भएको छैन् ।

पछिल्लो समयमा उद्योगको जिम्मेवार केही व्यक्तिहरुको हस्तक्षेपकारी भूमिकाप्रति महाप्रबन्धक न्यौपानेले असन्तुष्ट जनाउँदै आएका थिए ।
उद्योगलाई पूर्ण क्षमतामा चलाउन जीर्ण भइसकेका धेरै पुराना मेशिनहरु फेर्न पूँजी आवश्यक भएको भन्दै उद्योग मन्त्री रमेश रिजालले उद्योगको साधारणसभासँगै स्थलगत भ्रमणको समयमा प्रतिबद्धता व्यक्त गरेका थिए । तर पछिल्लो समय आएर उनको बोलि फेरिएको सम्बद्ध व्यक्तिहरु बताउँछन् । अहिले अब उद्योग अगाडी बढ्न नसक्न भन्दै उद्योगमा थप लगानी गर्न नसकिने बताउँदै आएको सो स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार उद्योगमा महाप्रबन्धक न्यौपानेले राजनीतिक रंग नदिए पनि विपरित राजनीतिक धारबाट आएका उद्योगमा जीएम फेर्न चरम दबाब समेत आएको छ ।
पुराना फेर्नै पर्ने मेशिन लागि उनले सरकारसँग ३० करोड रुपैयाँ माग गर्दै आएका थिए । तर उद्योग मन्त्री रिजालले १५ करोड पनि उपलब्ध गराउन प्रयास र पहल नगरिदिएपछि न्यौपानेले राजीनामा दिएका थिए । महाप्रबन्धक न्यौपानेले राजीनामा दिएपछि केही ‘अबसरबादी’ ले त मदिरा र मासुको भोजसमेत गरेको उद्योग स्रोत बताउँछ ।
नेपालको उद्योगको इतिहासमा संभवत पहिलो पटक गरिएको यस्तो अनौठो दृश्यको यो समाचार गएको मंगलबारको थियो । मंगलबार बिहानको ७ बजे उदयपुर सिमेन्ट उद्योगको कर्मचारी आवास परिसरबाट एक महिला निस्किन्छिन् । उद्योगका एक कर्मचारीका अनुसार दायाँ हातमा त्रिशुल, बायाँ हातमा खुकुरी र निधारमा जरीको झिलमिले टालोमा सजिएकी भूत मन्साउने माता (महिला) हेमा कार्की हुन् । उनी उद्योगमा काम गर्ने सुरक्षा गार्ड रत्नबहादुर कार्कीकी श्रमती रहेको बताइएको छ । उनी श्रीमान्सँगै उद्योगकै आवासमा उद्योगका ती कर्मचारी बताउँछन् ।
रातो कुर्ता पहिरिएकी ती महिला सिमेन्ट उद्योगको मुख्य मेसिनतर्फ अघि बढ्छिन् । उद्योगमा एक दर्जन हाराहारी कर्मचारी र उद्योगको आवासमा बस्ने तिनका परिवारका सदस्यहरु उनको पछिपछि लाग्छन् । एक जनाले लाउड स्पिकरमा पञ्चे बाजाको संगीत बजाउँछन् । माताले सिमेन्ट उद्योगको मेशिनसँगै रहेको मन्दिरमा भट्याउँदै श्लोक पढ्छिन् । अघि–पछि हुनेहरु कतिपयले ‘जय जयकार’ गर्छ । केहीले भने उनको पछि–पछि हिड्दै श्लोक नै भट्याँछन् । आफूलाई माता चढेको र माताले उद्योगलाई संकटबाट बचाउन भूत मन्साउनुपर्ने भन्दै ‘माताको परेड’ गरेको उनको तर्क छ । यो उद्योगमा भुत मुन्साउने गरिएको माता परेडमा त्यहाँका केही ‘पूर्व’ र ‘र्वतमानहरु’ का साथै केही कर्मचारी र ट्रेड युनियनको प्रत्यक्ष संलग्नता देखिन्छ ।
उद्योग परिसरमा माताको नाच देखाउने र भुत मन्साउने काम उद्योगका हितका लागि भएको अखिल नेपाल नेपाल औद्योगिक मजदुर संघले दाबी गरेको छ ।
उद्योगमै काम गर्ने एक जना सुरक्षाकर्मीकी श्रीमतीलाई दुर्गा चढेपछि उद्योगको मुख्य मशिन र परिसरमा रहेको मन्दीरमा पुजा पाठ भएको संघका अध्यक्ष विशेश्वर पालको अभिव्यक्ति सार्वजानिक भएको छ ।
उद्योगका अध्यक्ष केशवकुमार बस्नेतले फ्याक्ट्रीभित्रै रहेकी माताबाट उद्योगको पूजा गरिएको र त्यो कसैप्रति लक्षित नभएको दाबी गरेको अभिव्यक्ती आएको छ । ‘माताले पहिल्यै यहाँ वास्तु नमिलाए उद्योग अप्ठ्यारोमा पर्छ भन्नु भएको रहेछ । पहिलेका महाप्रबन्धकलाई सो कुरा भन्दा मान्नुभएको रहेनछ,’ उनले भनेका छन् । तर, महाप्रबन्धकले राजीनामा दिएपछि उद्योग गल्ने वातावरण बन्दै गएकाले पूजा गरिएको उनको दाबी छ । ‘उद्योग चलाउने निर्णय भएकै दिन पूजापाठ भयो । महाप्रबन्धकको पनि राजिनामा आयो,’ उनले भने ‘यो सबै संयोग भयो । पुजापाठ हो अनिष्ट नहोस् भनेर हो । फ्याक्ट्री केही भएको थिएन तर चल्न सकेको थिएन । तर किन नचलेको भन्ने जावाफ कसैसँग थिएन ।’ अध्यक्ष बस्नेतले सञ्चार माध्यमले बताएका थिए ।

महाप्रबन्धक न्यौपानेले यसलाई आफूबिरुद्धको निकृष्ट राजनीति भनेका छन् । आफू अघिल्लो सरकारले नियुक्त गरेको मान्छे भएकाले आफू छउञ्जेल घेरावन्दीमा पारेर उद्योग चल्न नदिएको उनले दाबी गरे । आफ्नो कार्यकालमा उद्योगलाई चाहिने पूर्वाधार र लगानी पनि नदिएको उनले तर्क थियो । सरकारी लगानीको उद्योग चल्नै नदिने बनाउने अनि २१ औं शताब्दीमा भूतप्रेतात्माको पूजा आराधना गरी उद्योग चल्छ भन्नुलाई बुझ्नेले आफैं बुझ्न महाप्रबन्धक न्यौपानेले आग्रह गरिरहेको छ ।
माता परेडको विषयलाई लिएर अहिले औद्योगिक क्षेत्रले समेत हास्यस्पद आलोचना गरेको छ । ‘उद्योगमा पुजा आज सामान्य विषय हो ।’ एक उद्योगपतिले भने– ‘माता परेड भने उद्योग हित विरुद्धको निकृष्ट राजनीति हो ।’ आफूले यस्तो उद्योगबाट भुत मुन्साएको अहिलेसम्म कहिले नदेखेको र नसुनेको बताउँदै उनले राजनीतिबाट टाढा राखेर चलाए मात्र उद्योगले गति लिने बताए ।
२१औं शताब्दीमा उद्योगमा गरिएको यस्तो निकृष्ट कार्यको अहिले विशेषगरी बौद्धिक र आर्थिक क्षेत्रले खुलेरै आलोचना गरिरहेको छ । यस्तो कार्यले उद्योग चल्न नसक्ने समेत उनीहरुले ठोकुवा गरेका छन् । एक स्थानीयले त उद्योगबाट भूत प्रेतात्मा मुन्साउने होइन्, उद्योगमा अब ‘पिसाच’ पस्न सक्ने बताए । उनले उद्योग सिध्याउने ती ‘पिसाचहरु’लाई ‘माता’ हैन बलियो ‘धामी झाक्री’लाई तैनाथ राख्नु पर्ने सुझाए ।
केहीले त उद्योगलाई क्यान्सर लाग्न सुरू भएको बताउँदै माताले उपचार हुने नसक्ने बताएका छन् । उद्योगलाई ‘क्यान्सर’ रोग लगाउन उद्दत हुनेहरुलाई ‘डाक्टर’ खोज्न समेत सुझाब दिएका छन् ।
उद्योगलाई धरासायी बनाएर संभावनै संभावना भएको खानीतिर ‘गिद्देनजर’ लाग्न सक्छ अगाडी हेर्दै जान र सँगसँगै खबरदारी गर्न समेत उनीहरुले सरोकारवाला सबैसँग आग्रह गरे ।