ई–आर्थिक, काठमाडौं । सरकारी संस्थानहरु नोक्सानीमा त चूर्लुम्म डुबेकै छन नी, सूसासनमा समेत चुकेका छन भन्ने उदाहरण उदयपुर सिमेण्ट उद्योग लिमिटेडलाई हेरे पुग्छ । वि. सं. २०४४ सालमा तत्कालीन उद्योग विभागमा दर्ता भएको यो उद्योगले दर्ता भएको ३४ बर्ष पुगिसक्दा पनि दर्ता प्रमाणपत्र, शेयर लगत, पुंजी संरचना स्वीकृति जस्ता महत्त्वपूर्ण प्रमाणपत्रहरु प्राप्त गरेको थिएन ।
बर्षैपिच्छे गर्नुपर्ने वार्षिक साधारण सभा समेत गर्न नसकेकोले वि. सं. २०४४ देखि गत आ. व. २०७६/७७ सम्म कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेस गर्नुपर्ने विवरण पेस गर्न सकेको थिएन । नेपाल सरकारको पूर्ण स्वामित्व भएकोले हरेक वर्ष वार्षिक साधारण सभा गर्न पनि कुनै कठिनाइ नहुनुपर्ने हो । तर, महाप्रबन्धकहरुको हदैसम्मको लाहापर्वाहीको कारण कम्पनी अद्यावधिक हुन सकेको थिएन ।

२०७७ साल माघमा प्रतिष्पर्धाबाट गोपीकृष्ण न्यौपाने महाप्रबन्धक छनौट भै गएपछि नियमित मर्मतसम्भार, उत्पादन, बिक्रिको साथै सूसासनमा समेत दृष्टि पुर्याएका कारण एकैसाथ चौध वर्षको वार्षिक साधारण सभा गराई अधिकृत पुंजी समेत रु. ४ अर्बबाट रू. १० अर्ब पुर्याउने गरी कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत गराएका छन भने कम्पनीका सबै अभिलेखहरु अपडेट गराई शेयर लगत समेत प्रमाणित गराई लिन सफल भएका छन् ।

उद्योगको ३३ औं वार्षिक साधारण सभाले नेपाल सरकारको शुरु लगानी बाँडफाँड गर्दा ऋण तर्फ छुट्याएको रकम र सो को व्याज समेत साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित भैसकेको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिको लागि पत्राचार भैसकेकोले सहमति प्राप्त हुनासाथ साबिक शेयरधनीहरुलाई समानुपातिक हिसाबले शेयर थप हुने भै उद्योगको चुक्ता पुंजी रू. ७ अर्व भन्दा बढी कायम हुनेछ । त्यसैगरी नेपाल सरकारको निर्देशानुसार आ. व. २०७६/७७ को वित्तीय विवरण एनएफआरएस अन्तर्गत तयार गर्ने संचालक समितिको निर्णय कार्यान्वयनको अन्तिम चरणमा पुगेको उद्योगले जानकारी दिएको छ ।
आफ्नो उद्योगको सम्पत्तिको यथार्थ मूल्यांकन गराई एक्चुरी मार्फत कर्मचारीको दायित्त्व एकीन गर्ने कार्य सम्पन्न भैसकेको छ । यसअघि लगभग ५ अर्ब ५० करोडको नोक्सानी भएपनि एनएफआरएस अन्तर्गत बित्तीय विवरण तयार हुंदा उक्त हालसम्मको नोक्सानी कट्टी गरि उद्योग नाफामा जानसक्ने आंकलन गरिएको छ ।

चालू आ. व. देखि कारोबारको हिसावले पनि नाफामा लैजान महाप्रबन्धक न्यौपानेको नेतृत्वमा रहेको उद्योग उच्च व्यवस्थापन टीम, क्रियाशिल कर्मचारी युनियनहरू, सबै कामदार कर्मचारीहरु दत्तचित्त भएर लागिपरेकोले यो बर्षको पहिलो ५ महिनाको उत्पादन, बिक्रि लक्ष्य पूरा भैरहेको उद्योगले जनाएको छ । त्यसैगरी आगामी दिनमा पनि कुनै वाधा अवरोध नभए लक्ष्य पूरा गर्न सकिने जनाइएको छ ।
स्मरणीय के छ भने यस अघि एउटा सामान्य लेनदेनमा उद्योगको नामको ३३ बिगाह जग्गा रोक्का राखी सो मध्ये २ कठा १७ धुर जग्गा अदालतको आदेश अनुसार लिलाम समेत भैसकेकोमा सम्मानित सर्वोच्च अदालतबाट यसरी अवैध रुपमा गरिएको रोक्का तथा लिलाम प्रक्रिया बदर गरि सम्पूर्ण जग्गाहरु फुकुवा गराउन समेत महाप्रबन्धक न्यौपाने सफल भएका थिए ।
