२०८३ भाद्र १० बुधबार

रसुवा भोटेकोशी बाढी प्रभावितको उद्धार तीव्र, १२ जनाको उद्धार

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
589
Shares
रसुवा भोटेकोशी बाढी प्रभावितको उद्धार तीव्र, १२ जनाको उद्धार

रसुवा ।  भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म सेनाको हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ।

सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेनाका चार र निजी क्षेत्रका आठ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि काठमाडौंस्थित विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग समन्वय भइरहेको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेका लागि १०० शय्या छुट्याइएको छ। ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र दुई जना नर्स प्रभावित क्षेत्रमा खटिएका छन्।

नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। स्काउटबाट पाँच चिकित्सक र नौ उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा जाने तयारीमा छन्। स्वास्थ्य सेवा विभागले आवश्यक औषधि प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रमा करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा २४ वर्गफिटका १५ वटा टेन्ट पठाउने तयारी गरेको छ। उद्धार तथा राहत कार्यमा नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघसंस्थासँग पनि समन्वय भइरहेको छ।

बाढी प्रभावितलाई लक्षित गरी काठमाडौं, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ। नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराएका छन्।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, सूचना तथा समन्वयका लागि १११५ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij