२०८३ भाद्र १७ बुधबार

रसुवा बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

ई आर्थिक    बुधबार, भाद्र १७ २०८३
627
Shares
रसुवा बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि संकलन गरेको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको टोलीले युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको संघले जनाएको छ।

संघका अनुसार राहत सहयोग अभियानमा हालसम्म संस्था, व्यक्तिगत व्यवसायी, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थासहित ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग संकलन अभियान भने अझै जारी रहेको संघले जनाएको छ।

मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको संघले जनाएको छ।

अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाहरूबाट प्राप्त योगदानको अभिलेख राखी सम्बन्धित विवरण सार्वजनिक गरिने संघले जनाएको छ।

विपद्को कठिन घडीमा वैदेशिक रोजगार व्यवसायी समुदायले देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय भावनाले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ प्रदान गरेको संघको भनाइ छ।

संघले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदारहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij