काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न सात वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउनेदेखि विभिन्न प्रदेशमा प्रमुख सचिव पदमा कर्मचारी बढुवा तथा पदस्थापन गर्नेसम्मका निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णयअनुसार आगामी २०८३ असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ।
त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि भएको छ।
सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आयोगको सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।
सरकारले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ।
त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
यससँगै मन्त्रिपरिषद् बैठकले संघीय सरकारका प्रशासनिक नियुक्ति, अन्तर्राष्ट्रिय सहभागिता, कानुनी सुधार तथा गरिब परिवार पहिचानसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ।