२०८३ भाद्र २५ बिहिबार

भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमद्वारा १० करोड सहयोग

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
608
Shares
भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमद्वारा १० करोड सहयोग

काठमाडौँ ।  रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।

बिहीबार आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा नेपाल टेलिकमका सचिव एवं सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थिति थियो।

राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनामा योगदान पुग्ने नेपाल टेलिकमले जनाएको छ।

यसअघि नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट समेत २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण भइसकेको छ।

बाढीपछि कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ।

नेपाल टेलिकमले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा समेत आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij