२०८३ साउन ९ शनिबार

मोतीपुर औद्योगिक क्षेत्रका कसैको घरबास नउठ्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

ई आर्थिक    सोमबार, कार्तिक २१ २०७९
5.4K
Shares
मोतीपुर औद्योगिक क्षेत्रका कसैको घरबास नउठ्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

ई–आर्थिक, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रभित्रका कुनै स्थानीयको घरबास नउठ्ने गरी उद्योग खोल्ने भएका छन् । मन्त्री खाँणले बस्ती नभएको स्थानमा मात्रै उद्योग खोल्ने भएकाले कसैको पनि घरबास नउठ्ने बताए ।

सोमबार मोतीपुर औद्योगिक क्षेत्रभित्र पर्ने रुपन्देहीको सियारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नै उनले यस्तो बताएका हुन् ।

निर्माणाधीन औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर बस्ती नभएको स्थानमा मात्रै उद्योग खोल्ने उनको भनाइ थियो ।

‘मोतीपुर औद्योगिक क्षेत्रभित्र बसेका कोही पनि छोडेर हिँड्नु पर्दैन । क्षेत्रफल घटाएर बस्ती बेगरको स्थानमा मात्रै उद्योग विस्तार गर्नेछौं,’ गृहमन्त्री खाँणले भने ।

यस्तै उनले फेरि नयाँ डीपीआर र नक्शांकन गरेर औद्योगिक क्षेत्रको शिलान्याश गर्ने बताए । ‘हामी जनतालाई पिरमर्कामा पारेर विकास गर्दैनौं,’ उनले भने, ‘पहिले जनताको बसोबास सुनिश्चित गरेर मात्रै विकास गर्नेछौं ।’

रुपन्देहीको मोतीपुरमा २०७२ चैत १ मा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियोे । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनीक जग्गामा ओद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

रुपन्देहीको तिनाउ नदीको यस उकास क्षेत्रमा एक सय १३ विगाहा क्षेत्रफलमा ०७३ वैशाख २९ मा मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ । जुन २०७५ जेठ १९ मा विस्तृत अध्ययन प्रतिवेदन बनाएर स्वीकृत गरिएको थियो। जहाँ करिब १ सय विगाहा क्षेत्रफलमा सार्वजनिक जग्गा ओगटेर बसेको बस्ती छ ।

साथै यहाँ जग्गा ओगटेर ठूला ठूला संरचना बनाइएका बस्ती छन् । राजनीतिक दलहरूले भने हरेक पटक यसै विषयलाई चुनावी मुद्दा बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij