२०८३ साउन ९ शनिबार

भृकुटीमण्डपको जग्गामा संस्थाको रजगज, चार करोड बढी उठ्न बाँकी

ई आर्थिक    सोमबार, साउन ९ २०७९
4K
Shares
भृकुटीमण्डपको जग्गामा संस्थाको रजगज, चार करोड बढी उठ्न बाँकी

काठमाडौं । सामाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डपको जग्गामा सङ्घ संस्था तथा व्यापारीको रजगज बढेको देखिएको छ । भाडा तिर्न आलटाल गर्नेबाट चार करोड रुपियाँभन्दा बढी बक्यौता रकम उठ्न बाँकी रहेको परिषदले जनाएको छ ।

जम्मा १५ करोड १३ लाख ५५ हजार ६३ रुपियाँ बक्यौता रकम उठ्नुपर्नेमा १० करोड ५९ लाख ९३ हजार ८२४ रुपियाँ मात्रै उठेको परिषदले जनाएको छ । चार करोड ५३ लाख ६१ हजार २३९ रुपियाँ बक्यौता उठ्न बाँकी रहेको समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार भृकुटीमण्डपको जग्गा सामाज कल्याण परिषद अन्तर्गत छ । सामाज कल्याण परिषदको शाखा भृकुटीमण्डप सञ्चालन कार्यालयले हेरिरहेको भृकुटीमण्डपमा रहेका व्यापार व्यवसाय तथा सङ्घ संस्थाले यो बक्यौता रकम तिर्न बाँकी छ । यसमा धेरै पुराना बक्यौता रकम पनि तिर्न बाँकी रहेको बताइएको छ । केही व्यापारीहरुले २०७४ यताका भाडाहरु तिरिरहेका छन् । “पहिलेको बाँकी नै छ तर, नयाँ अलि–अलि दिएको पनि लिनेगरेका छौँ” उहाँले भन्नुभयो ।

स्टल, बुथ, मेला, कच्ची गोदाम, आलु क्लब, सेतोघर, प्रदर्शनीस्थल, हलबाट बक्यौता उठ्न बाँकी रहेको परिषदको भनाइ छ । बक्यौता नउठ्नुको कारण सामाजिक संस्था भएकाले भाडामा छुट पाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो ।

प्रमुख भट्टराईका अनुसार सामाज कल्याण परिषद्को त्यस्तो नियम नरहेकाले भाडामा लिएपछि भाडा तिर्नैपर्ने हुन्छ । “हाम्रो नियममा त्यस्तो छैन” उहाँले भन्नुभयो, “हामीले समय–समयमा पत्र काटेका छौँ ।” अब पनि बक्यौता नउठे कानुनी प्रक्रियाअनुसार जाने उहाँले बताउनुभयो ।

बक्यौता बाँकी रहेका व्यक्ति तथा संस्थाहरुमा उपभोक्ता मञ्च नेपालको ३४ लाख ६३ हजार ६०२ रुपियाँ, लोकतन्त्रिक शहीद तथा घाइते समाजको १५ लाख ६२ हजार ९८२ रुपियाँ, नेपाल पत्रकार महासङ्घ, काठमाडौं शाखाको १८ लाख २२ हजार २८ रुपियाँ, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ५६ लाख ७४ हजार ९०७ रुपियाँ, नेपाल फोटो पत्रकार महासङ्घको पाँच लाख २० हजार ४२७ रुपियाँ बक्यौता देखिएको छ ।

सोहीअनुसार, नेपाल नेत्रहीन सङ्घको ४१ लाख ३२ हजार २०६ रूपियाँ, नेपाल अपाङ्ग समाज बहुउद्देश्यीय संस्था लिमिटेडको २८ लाख २७ हजार ७५ रपियाँ, नेपाल ह्वील चेयर क्लबको १७ लाख १४ हजार ५८, नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चको सात लाख एक हजार ९२१ रुपियाँ, काठमाडौं उपत्यका सार्वजनिकको ८६ लाख ८६ हजार २३६ रुपियाँ, राष्ट्रिय अपाङ्ग महासङ्घको ६५ लाख ६९ हजार ९९१ रुपियाँ, बालबालिकाको निम्ति गैरसरकारी सङ्घको ४३ लाख ३८ हजार २३९ रुपियाँ बक्यौता बाँकी रहेको परिषद्को भनाइ छ ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालको १६ लाख १२ रुपियाँ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानको १० लाख २३ हजार ४५०, यशोदा कुमारी सेठ्ठीको पाँच लाख ४३ हजार ७५०, धन बहादुर घिमिरेको १८ हजार ३५० गरी जम्मा चार करोड ५३ लाख ६१ हजार २३९ रुपियाँ बक्यौता बाँकी रहेको भृकुटीमण्डप सञ्चालन कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यसरी बक्यौता नतिर्नेमा दुई जना व्यक्ति र १४ वटा सङ्घ–संस्था छन् । बक्यौता धेरै भएको र तिर्न आलटाल गर्ने भएपछि कानुनी प्रक्रियमा जाने निर्णय परिषद्ले गरेको जनाएको जनाएको समाचार दीपा चौधरीले आजको गोरखापत्रमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij