२०८३ साउन ९ शनिबार

भोट हाल्न फर्की आएँ, ११ लाखले छाडे राजधानी

ई आर्थिक    बुधबार, बैशाख २८ २०७९
7.1K
Shares
भोट हाल्न फर्की आएँ, ११ लाखले छाडे राजधानी

तुलसी सुवेदी, काठमाडौं : अर्घाखाँचीका जनक टण्डन बुधबार बिहान काठमाडौंबाट गाउँ जाँदै छन्। पार्टीले गाडीको व्यवस्था गरिदिएपछि भोट हाल्न साथीभाइसँग जान लागेको टण्डन बताउँछन्। ‘हाम्रो गाउँका ३५ जना फर्किंदै छांै’, उनी भन्छन्, ‘एउटा बसमा सिट नपुगे अर्को गाडी पनि पठाउने नेताहरूले भन्नुभएको छ।’

मकवानपुरका विजय थापा बिहीबार घर फर्किने भएका छन्। ‘आफ्नै गाउँटोलका उम्मेदवार छन्। त्यही भएर साथीभाइ मिलेर मतदान गर्न जान लागेका हौं,’ थापा भन्छन्। सुर्खेतकी रश्मी बुढा सोमबारै घर पुगेकी छन्। काठमाडौंमा निजी क्षेत्रमा काम गर्दै आएकी बुढा गाउँ आउजाउ गर्ने व्यवस्था पार्टीले गरेको सुनाउँछिन्। काठमाडौंमा अध्ययनरत धनगढीका राकेश रावल पनि भोट हाल्न गाउँ पुगेका छन्। उनी पनि दलले नै रिजर्ब गरेको बस चढेर जिल्ला गएका हुन्। बस भाडा नलाग्ने, बाटोमा खाने खर्च पनि पार्टीले नै गर्ने भएपछि गाउँ पुगेको रावलको भनाइ छ।

एक सातायता मात्रै ११ लाखभन्दा बढीले संघीय राजधानी छोडेको ट्राफिक प्रहरीको तथ्यांक छ। ट्राफिक प्रहरीका सूचना अधिकारी सञ्जीव शर्मा दास १५ दिन अघिदेखि नै उपत्यका छोड्ने क्रम बढेको बताउँछन्। उनका अनुसार वैशाख १२ मा ८ हजार ६ सय ३८ गाडीमा ४४ हजार ५ सय ७७ जना बाहिरिए। मंगलबार अपराह्न ४ बजेसम्म ८ हजार ८ सयवटा सवारीसाधनमा ५० हजार ९ सय ३० यात्रु बाहिरिएको दासको भनाइ छ। ‘एक सातायता सवारी साधन र यात्रुहरू बाहिरिने क्रम बढेको छ’, उनले भने।

विभिन्न दलले एक सातादेखि गाडी रिजर्ब गर्दै राजधानीबाट मतदातालाई गाउँ ओसारिरहेका छन्। पार्टीका जिल्ला सम्पर्क मञ्च तथा समितिका पदाधिकारी चन्दाबाट बस भाडा व्यवस्था गरेको बताउँछन्। कतिपय उम्मेदवारले काठमाडौंमा रहेका मतदातालाई गाउँ फकिर्ने गाडी भाडा पठाउने गरेका छन्। कलेजका विद्यार्थी, व्यवसायी र विभिन्न पेसामा रहेकाहरू प्रायः मंगलबारसम्म गाउँ पुगिसकेका छन्। नजिक घर भएकाहरू बिहीबार फर्किने तयारीमा छन्।

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला चुनावलाई लक्ष्य गरी दलहरूले गाडी बुक गरिरहेको बताउँछन्। बिहीबारसम्म अझ धेरैले उपत्यका छोड्ने सम्भावना रहेको सिटौलाको भनाइ छ। ‘नियमित (रुट) का बसका साथै रिजर्ब गरेर जाने क्रम पनि बढेको छ,’ सिटौला भन्छन्, ‘अघिपछिको तुलनामा दोब्बर गाडी रिजर्ब भइरहेका छन्।’ मिनीबस तथा साना गाडी पनि रिजर्बमा बाहिरिने गरेको उनी बताउँछन्।

सोचेभन्दा धेरै रिजर्ब भएकाले व्यवसायीहरू उत्साहित भएको सिटौला बताउँछन्। ‘साना ठूला सबै खाले गाडी रिजर्ब भएकाले व्यवसायी उत्साहित छन्’ उनी भन्छन्। गाडी रिजर्बको संख्या बढेसँगै व्यवसायीले भाडा महँगो असुल्न थालेका छन्। नियमितभन्दा दोब्बर भाडा लिने गरेको नेताहरू बताउँछन्। पार्टीहरूले पनि आफ्ना कार्यकर्ता तथा शुभेच्छुकका गाडी खोजेर रिजर्ब गर्ने गरेका छन्। वरिष्ठ उपाध्यक्ष सिटौला भने बढी भाडा नलिइएको दाबी गर्छन्।

एमाले केन्द्रीय सदस्य सुजिता शाक्य जिल्ला सम्पर्क मञ्चको संयोजनमा मतदाता गृहजिल्ला फर्किसकेको बताउँछिन्। ‘आ–आफ्ना जिल्लाका सम्पर्क मञ्चमार्फत मतदाताहरू घर गइसकेका छन्,’ उनी भन्छन्, ‘केही २९ गतेसम्म जानुहुन्छ।’

अहिले दसैंको बेलाजस्तो भएको शाक्यको भनाइ छ। अधिकांश मतदाता जिल्ला गइसकेकाले काठमाडौंमा भीडभाड घटेको देखिन्छ।’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल कांग्रेसका अधिकांश मतदाता घर फर्किसकेको बताउँछन्। कतिपय बुधबार र बिहीबारसम्म जाने तयारीमा रहेको पौडेलको भनाइ छ। ‘सम्पर्क समितिका पदाधिकारीहरूले आफ्ना जिल्लाका भोटरको समन्वय गर्दै लैजाने गरिरहेका छन्,’ पौडेल भन्छन्।

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्याय स्थानीय निर्वाचनका लागि कार्यकर्ता उपत्यका छोडेर गन्तव्यतिर गइसकेको बताउँछन्। ‘सम्पर्क समन्वय समितिमार्फत मतदाता जिल्ला गइसकेका छन्,’ उपाध्याय भन्छन्, ‘रोजगार गरिरहेका केही बुधबार बेलुकासम्म जाने छन्।’

माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी पार्टीसँग जोडिएका व्यवसायीलाई अनुरोध गरेर प्रचलित भाडामा बस बुकिङ गर्ने गरिएको बताउँछन्। ‘गाडी व्यवसायीहरूमा निर्वाचनको बेला कमाउने मौका यहीँ हो भन्ने प्रवृत्तिचाहिँ देखियो’, उनी भन्छन्, ‘५४ जिल्ला सम्पर्क कमिटीहरूले गाडी बुकिङ गरेका छन्। थोरै मतदाता भएका कर्णालीका जिल्लामा भने हवाई टिकटको व्यवस्था गरिएको छ।’

मतदान गर्न आए विदेशबाट पनि

कामको खोजीमा विदेशमा रहेकाहरू पनि भोट हाल्न गाउँ फर्किन थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार चुनाव नजिकिएसँगै विदेशबाट फर्किनेको संख्या पनि बढेको छ। वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्याल चुनावका कारण श्रम स्वीकृति लिनेको संख्या घटेको बताउँछन्। दैनिक १ हजार ७ सय ५० जनाले श्रम स्वीकृति लिने गरे पनि अधिकांश चुनावपछि मात्रै विदेश जाने तयारीमा छन्। कतिपय बिदामा आएकाहरू पनि मतदानपछि मात्रै फर्किने तयारीमा छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारण पौडेल राजनीतितर्फ जागरुक भएकाहरूले निर्वाचनको क्रममा बिदा मिलाएर आउने गरेको बताउँछन्। नेपाल प्रहरीका अनुसार तेस्रो मुलुकभन्दा भारतबाट घर फर्किनेको संख्या बढेको छ। स्थानीय तह निर्वाचन लक्षित गरेर नाकाहरूबाट आउने क्रम बढेको प्रहरीले जनाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका उपाध्यक्ष सुरेश खड्का स्थानीय तहको निर्वाचनका लागि काठमाडौं आइपुगेका छन्। काठमाडौं महानगरपालिका–१४ स्थायी घर भएका खड्का १५ दिन बिदा लिएर आएका हुन्। मतदान लगत्तै ओमान फर्किने तयारीमा छन्। ‘चुनावको बेला संभव भएसम्म बिदा मिलाएर आउने गरेको छु’ उनी भन्छन्, ‘मतदान गर्न उत्साह बढ्छ।’

ओमानबाटै हालै स्वदेश फर्केका जनकपुरका विकल झा पनि चुनावकै लागि स्वदेश फर्किएका छन्। भोट हाल्न मात्रै आफू घर फर्केको उनले बताए। स्थानीय तहको निर्वाचन आफ्नै गाउँठाउँको विकास निर्माणका लागि प्रतिनिधि चुन्ने अवसर भएकाले मौका मिलाएर स्वदेश फर्किएको उनले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दण्डुराज घिमिरे भन्छन्, ‘कतिपय कामदार चुनाव लक्षित गरेर बिदा मिलाएर पनि फर्केका हुन सक्छन्।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij