२०८३ साउन ९ शनिबार

नागढुङ्गा सुरुङमार्गमा स्थानीयको आक्रमणपछि निमार्ण कार्य ठप्प, दैनिक डेढ करोड रुपियाँ घाटा

ई आर्थिक    आइतबार, बैशाख ४ २०७९
15.2K
Shares
नागढुङ्गा सुरुङमार्गमा स्थानीयको आक्रमणपछि निमार्ण कार्य ठप्प, दैनिक डेढ करोड रुपियाँ घाटा

ई–आर्थिक, काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको आक्रमण पछि उक्त सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए ।

आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु(याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको उनले बताए । करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गरेको आयोजना प्रमुख शाक्यले जानकारी दिए ।

त्यसैगरी, आक्रमणकारीले कार्यालय परिसरमा राखिएको बा१८च ४१२ नम्बरको जिपसमेत तोडफोड गरेका छन् । प्रहरीले घटनालाई केही समयमै नियन्त्रणमा लिएको थियो ।

दातृनिकाय तथा निर्माण कम्पनीका विदेशी जनशक्तिमाथि कुनै पनि बहानामा आक्रमण गर्नु निकै नै संवेदनशील विषय भएको बताउँदै प्रमुख शाक्यले राज्यको तर्फबाट सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम पुनः सुरु हुन नसक्ने स्पष्ट पारे ।

उनले भने, “जिल्ला प्रशासन कार्यालय काठमाडौँले छलफलका लागि निर्माण पक्ष र स्थानीयलाई आइतबार बोलाएको छ । छलफलमा प्रशासनबाट निर्माण स्थलमा २४ घण्टा सुरक्षाको सुनिश्चितता नभएसम्म हामी काममा फर्कन सक्दैनौँ ।”

दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प रहेको उनले बताए ।

सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजना प्रमुख शाक्यको भनाई छ ।

राज्यले निर्माण कम्पनीलाई दैनिक डेढ करोड रुपियाँ भुक्तानी गर्नुपर्छ । यदि हाम्रा कारणले काममा अवरोध भएर काम रोकिएको अवस्थामा सो रकम राज्यले तिर्नैपर्छ । आयोजना प्रमुख शाक्यले सुक्खायामका कारण काठमाडौँ उपत्यकाभरि नै पानीका मुहानबाट पानी कम आएको बताए । उनले भने, ‘पानीका अन्य मुहानजस्तै त्यस टोलको पनि मुहानबाट समेत पानी कम आएको हो । मुहान सुकेको होइन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij