२०८३ साउन ९ शनिबार

रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

ई आर्थिक    शुक्रबार, पौस २ २०७८
2K
Shares
रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

रेल सञ्चालनमा आउँदा कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनको खर्च १० लाख रुपैयाँभन्दा बढी, टिकटबाट पौने तीन लाख मात्र आम्दानी हुने

विमल खतिवडा, काठमाडौँ : भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुने देखिएको हो । भारतबाट ल्याउन लागिएका २६ जना प्राविधिकको दिनको खर्च ३ लाखभन्दा बढी हुनेछ ।

धनुषाको इनर्वा स्टेसनमा राखिएको रेल । एक वर्षअघि भारतबाट किनिएका रेल सेट छोप्न राखिएको त्रिपाल च्यातिइसकेको छ । तस्बिर : अजित तिवारी/कान्तिपुर

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ । यस्ता पाइलट चार जना रहनेछन् । सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेछ । नेपाली कर्मचारी पनि १ सय ५१ जना रहनेछन् । उनीहरूका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ ।

रेलका लागि इन्धन खर्च प्रतिदिन १ लाख ३० हजार रुपैयाँको हुने झाले बताए । भारतीय रेलवे कम्पनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु (३५ करोड २० लाख रुपैयाँ) मा सम्झौता भएको छ । यसबापत पहिलो किस्ताका रूपमा साढे सात करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ । कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनको खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए । ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने, ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ ।’ टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुनेछ ।

अहिले नेपाल रेलवे कम्पनीमा ११ स्थायी र चार जना अस्थायी गरी १५ जना कर्मचारी छन् । तिनका लागि मासिक तलबमा मात्र साढे चार लाख रुपैयाँ खर्च भइरहेको छ । इन्धन, विद्युत्लगायत प्रशासनिक काममा डेढ लाख रुपैयाँ खर्च हुने गरेको कम्पनीका महाप्रबन्धक झाले बताए । यसअनुसार अहिले रेलवे कम्पनीको दिनको खर्च २० हजार रुपैयाँ छ ।

रेलवे अध्यादेश जारी गर्दै कानुनी रूपमा बाटो खुला भए पनि अहिले समस्या बजेट अभावले गर्दा भएको छ । ‘रेल चलाउन आर्थिक पाटो जटिल रूपमा अघि आएको छ, अर्थ मन्त्रालयसँग ३५ करोड रुपैयाँ कोंकणलाई तिर्न भन्दै माग्दा पनि पाएका छैनौं,’ झाले भने, ‘पैसा माग्दा खातामा भएको रकम चलाउन पत्र पठाएको छ, खातामा २५ करोड रुपैयाँ मात्र छ ।’

रेल किन्दाको १० करोड रुपैयाँ कर तिर्न बाँकी रहेकाले त्यो पनि अर्थ मन्त्रालयसँग मागिएको महाप्रबन्धक झाले जानकारी दिए । बजेटको पाटो क्लियर भएपछि मात्र कर्मचारी व्यवस्थापनलगायत प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

यता ८ महिनादेखि पालले छोपेर राखिएका दुई रेलसेटको प्राविधिक जाँच पनि हुन सकेको छैन । प्राविधिक जाँचको काम कोंकणले गर्ने हो । कोंकणले काम गर्नासाथ बिल पठाउने र पठाएको १४ दिनभित्र भुक्तानी नदिए सम्झौता तोड्न खोज्ने भएकाले चाँडो बजेट उपलब्ध गराउन अर्थलाई भनिएको झाले बताए । ‘रेल सेटको प्राविधिक अवस्था बुझ्न जरुरी छ, मर्मत गर्नुपर्ने भए त्यसतर्फ काम गर्नुपर्छ,’ उनले भने ।

कर्मचारी नियुक्त हुनासाथ थप बजेट चाहिन्छ । तर सबै कुरा बजेटले अड्किएका छन् । बजेटको टुंगो नलाग्दा रेल सञ्चालन मिति फेरि अन्योलमा परेको छ । धेरै लगानी भारतीय प्राविधिकमा गर्नुको साटो ४० लाख रुपैयाँ खर्च गरेर नेपाली जनशक्ति तयार पारौं भन्ने आफ्नो सुझाव रहेको झाको भनाइ छ । ‘नेपाली इन्जिनियरलाई एउटा लिखित सम्झौता गरौं र भारत पढ्न पठाऔं,’ उनले भने ।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पालामा रेल खरिद सम्झौता भएको हो । रेल चल्दा घाटानाफा हुनेबारे आकलन गरिएन । रेल २०७६ माघ १ देखि सञ्चालनमा ल्याउने योजना उनकै पालामा भएको थियो तर उनका पालामा रेल न नेपाल आयो, न चल्नै सक्यो । ‘जुन प्रकारले रेल चलाउन लाग्नुपथ्र्यो, त्यसरी लागिएन,’ पूर्वमन्त्री महासेठले भने, ‘त्यो बेला समयमै हस्तान्तरण नहुनु र बनाएको योजना समयमै कार्यान्वयन गर्न नसक्नुले अहिलेसम्म रेल चल्न सकेको छैन ।’

आफ्नो पालामा १२ करोड रुपैयाँमा भारतसँग जनशक्ति सम्झौता गर्ने भनिएको महासेठको भनाइ छ । ‘तर अहिले रेललाई निकै खर्चिलो बनाइँदै छ,’ उनले भने, ‘अहिले जसरी जनशक्ति सम्झौता गरिएको छ, त्यसले रेल नाफामा आउनुको साटो खर्च मात्र बढाउने देखिएको छ ।’

महाप्रबन्धक झाले पनि जनशक्तिमा लगानी घटाउन जरुरी रहेको बताए । आफ्नै जनशक्ति तयार पारे भारतलाई पैसा दिनु पर्दैन । रेलमार्गमा पर्ने रक्सौलको १६ बिघा जग्गा भारतीय पक्षबाट अतिक्रमणमा परेको समेत झाले सुनाए । ‘जग्गा अतिक्रमणबारे परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई पत्र पठाउँदै छौं,’ उनले भने । यहाँ एक इन्च जग्गाको कर अढाई रुपैयाँका दरले लिने गरिएको उनले जानकारी दिए । ‘तर यो जग्गालाई व्यावसायिक रूपमा उपयोग गर्न पनि सकिन्छ, यसबाट मात्र मासिक ५० लाख रुपैयाँ आम्दानी गर्न सकिने हाम्रो अनुमान छ तर भारतले अतिक्रमण गरिदिँदा समस्या भएको छ,’ झाले भने ।

जनकपुरमा रेलवे ट्रयाक आसपास दुई सय सटर बनाएर भाडामा लगाउन सकिने सम्भावना पनि रहेको उनले बताए । रेलका लागि आवश्यक इन्धन भारतमा गएर भर्नुपर्छ । त्यसबापत प्रतिदिन १६ हजार रुपैयाँ अतिरिक्त रकम तिर्नुपर्छ । ‘इन्धन स्टेसन नेपालमै बनाउन २५/३० लाख रुपैयाँ भए पुग्छ,’ झाले भने, ‘सबै कुरा भारतमा मात्र निर्भर हुनु राम्रो होइन ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij