२०८३ साउन ९ शनिबार

सेयर बजारमा गएको नकारात्मक सन्देशको बारेमा प्रचण्डको विज्ञप्ती, शेयर बजार र लाखौँ लगानीकर्ताको हितमा रहेको उद्घोष

ई आर्थिक    बिहिबार, पौस १ २०७८
10.4K
Shares
सेयर बजारमा गएको नकारात्मक सन्देशको बारेमा प्रचण्डको विज्ञप्ती, शेयर बजार र लाखौँ लगानीकर्ताको हितमा रहेको उद्घोष

ई–आर्थिक, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शेयर बजार र लगानीकर्ताको हितका पक्षमा रहेको बताएका छन् । आज बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै उनले आफू र आफ्नो पार्टी शेयर बजार र लाखौँ लगानीकर्ताको पक्षमा रहेको बताएका हुन् ।

प्रचण्डले आफूले पूँजीबजारका बारे गरेको विश्लेषण सही भएको बताउँदै लाखौँ लगानीकर्ताको पक्षमा आफू र आफ्नो पार्टी रहेको बताएका हुन्। ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु’, वक्तव्यमा भनिएको छ, ‘दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।’

माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटनका क्रममा प्रचण्डले पूँजीबजारका विषयमा बोलेको कुरालाई लिएर एमाले अध्यक्ष केपी ओलीले ‘चन्दा नदिएर’ प्रचण्ड पूँजीबजारलाई ‘ध्वस्त’ पार्न लागिपरेको अभिव्यक्ति दिएका थिए । त्यस्तै कतिपय लगानीकर्ताले प्रचण्डको विश्लेषणले पुँजीबजारमा नकारात्मक असर गरेको बताउँदै आएका छन् ।

पूर्वराजासँग पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई चुनौति

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले पाँच बुँदे सहमति गरेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौति दिएका छन् । उनले ओलीलाई ‘राजासँग पाँच बुँदे सहमति’ भएको पुष्टि गर्न नसके जनतासँग माफी माग्न चुनौति दिएका हुन्।

‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’

ओली मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट भागेको र उनी पूँजीपति वर्गको एजेन्ट बनेको समेत बताएका छन्। उनले ओली पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधि रहेको आरोप लगाएका छन्। ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम हो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij