२०८३ साउन ९ शनिबार

सुख्खा बन्दरगाह र आइसिपी कार्यालय पूर्ण अनलाइन

ई आर्थिक    सोमबार, मंसिर २७ २०७८
2.4K
Shares
सुख्खा बन्दरगाह र आइसिपी कार्यालय पूर्ण अनलाइन

वीरगन्ज : वीरगन्जस्थित सुख्खा बन्दरगाह र आइसिपी कार्यालय पूर्ण अनलाइन प्रणालीमा जाने भएका छन् ।

१ पुसबाट वीरगन्जस्थित आइसिपी कार्यालय तथा १ माघबाट सुख्खा बन्दरगाहका सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेकरहित कारोबार आइसिपी कार्यालयमा पुस १ गतेदेखि तथा माघ १ गतेदेखि लागू गरिने जानकारी दिँदै उनले भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगदरहित बनाउनसबै पूर्वाधारहरुको प्रक्रिया पूरा गरिएको पनि बताए ।

पौडेलले नेपाल विश्वमै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको भन्दै अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिको प्रयोग बढाउँदै जानु पर्नेमा जोड दिए । आइसिपी, बन्दरगाह भन्सार कार्यालयमा कागज तथा नगदरहित बनाउँदा व्यवसायीको समय र खर्च पनि कम हुन्छ ।

“बन्दरगाह र आइसिपी दुवै कार्यालयलाई माघ १ गतेसम्म कागज र नगदरहित कार्यालय घोषणा गर्ने तयारी भएको छ” पौडेलले भने, “आइसिपीमा व्यवसायीले विदेशबाट आयात गरेर ल्याएका सामानको चेक जाँच एकद्वार प्रणालीमा लागू भएको छ । सरकारले भन्सार प्रणालीलाई कागज र नगदरहित अनलाइन प्रणाली लागू गर्ने घोषणा गरेपनि अहिलेसम्म सबै काम अनलाइन हुन सकेको छैन ।”

केही काम अनलाइन प्रणालीमार्फत् सुरु भए पनि सबै कागज र नगदरहित काम हुन बाँकी छ । आइसिपी स्थापना भएसँगै विदेशबाट आयात गरिएको सामान छोटो समयमा नै बजारमा पुग्ने, खर्च अर्थात लागत कम हुँदै गएको छ । तर, अझ पूर्णरुपमा अनलाइन प्रणाली लागू भएपछि व्यवसायी र सरकार दुवैलाई सहज हुने उनले बताए ।

पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको पनि बताए । भन्सारमा विदेशबाट आएका समान तथा ट्रक-कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० वर्षदेखि त्यतिकै थन्किएर बसेका छन् । चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा प्रयोगविहीन भएको पौडेलले बताए ।

यस्तै, भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावले भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नुपर्ने, भन्सारमा कन्टेनर थुप्रिएर बस्ने, जाम हुने गरेका छन् । प्राप्त भौतिक पूर्वाधार तथा प्राविधिकको कमि हुँदा भन्सारमा आएका कन्टेनरको सामान समयमा पास गर्न सकिएको छैन ।

“भन्सार विभागले स्क्यान मेसिन नभएको भन्ने गुनासो मन्त्री कहाँ पुगेको छ । र मन्त्रीले तीन महिनाभित्र स्क्यान नेपाल ल्याउने निर्देशन पनि दिएका छन्” उनले भने ।

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका वीरगन्ज प्रमुख कमल ज्ञवालीले आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने गरिरहेको बताए । उनले आइसिपी सञ्चालनको मुख्य उद्देश्य समय र लगातलाई कमि गरी समयलाई सहजीकरण गर्ने भएको भन्दै यसले पछिल्लो समय व्यवसायीलाई धेरै सहज भइरहेको बताए ।

समितिले भारतबाट आयात भएका सवारी व्यवस्थापन गर्ने र गाडीको रुजु गर्ने काम गर्ने गरेको छ । आइसिपीले पनि विभिन्न पार्किङ, इन्ट्रि शुल्क गोदाम शुल्क शिर्षकमा राजस्व उठाउन गरेको छ । चालु आर्थिक वर्षमा ११ करोड ८९ लाख ५४ हजार ५ सय ३१ रुपैयाँ संकलन भएको छ । गत वर्ष ३० करोड ६ लाख ४१ हजार १६८ रुपैयाँ राजस्व संकलन गरिएको थियो । गत वर्ष २ लाख १७ हजार ७ सय ९९ आएको समाचार आजको कारोबारले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij