ई–आर्थिक, काठमाडौं । एमालेको विवाद मिलाउन १० सदस्यीय वार्ता टोली बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई पक्षबीच भएको छलफलमा १० सदस्यीय वार्ता टोली बनाउने सहमति भएको हो ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया सञ्चारकर्मीहरुसँग दिंदै अब एमाले एकता हुने बताए । बार्ता टोलीमा ओली पक्षबाट पाँच जना र नेपाल पक्षबाट पाँच जना रहने सहमति भएको छ ।
वार्ताटोलीमा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल वार्ता टोलीमा रहने भएका छन् ।
उक्त बार्ता टोलीले केही दिनमै प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । विगतको तुलनामा ओली–नेपाल दुबैमा लचकता देखिन थालेपछि पार्टी एकता हुने कुरामा विश्वास गर्न थालिएको छ ।