ई–आर्थिक, काठमाडौँ । कोरोना भाइरसको संक्रमणले चिकित्सकहरुको पनि धमाधम ज्यान लिन थालेको छ । यसैक्रममा काठमाडौंमा दुई चिकित्सकको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।
यसरी मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापा रहेका छन् । बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमित भएपछि उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
डा. झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् भने डा. थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष समेत हुन् ।
उनीहरु मध्ये डा. झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको हो । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाएको छ । विज्ञप्तीमा मृतात्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप् परिवारप्रति गहिरो समवेदना प्रकट गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।