२०८३ साउन १० आइतबार

बुद्ध एयरले थप्यो नयाँ एटीआर ७२–६००, अर्को महिनादेखि व्यावसायिक उडान

ई आर्थिक    शनिबार, साउन ९ २०८३
228
Shares
बुद्ध एयरले थप्यो नयाँ एटीआर ७२–६००, अर्को महिनादेखि व्यावसायिक उडान

काठमाडौं । बुद्ध एयरले आफ्नो जहाज बेडामा नयाँ एटीआर ७२–६०० सिरिजको विमान थपेको छ। कम्पनीले शुक्रबार फ्रान्सको तुलुसबाट ‘९एन–एओएस’ कल साइन भएको विमान नेपाल ल्याएको जनाएको छ। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा भएपछि आगामी महिनादेखि उक्त विमान व्यावसायिक उडानमा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ।

बुद्ध एयरका अनुसार नयाँ एटीआर ७२–६०० विमानमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली तथा उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।

कम्पनीले आयात गरेको यो विमानमा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) एप्रोच प्रणाली जडान गरिएको छ। यस प्रविधिको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने बुद्ध एयरले जनाएको छ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब २,००० मिटर भिजिबिलिटीमा पनि बुद्ध एयरको एटीआर ७२–६०० विमानले सुरक्षित रूपमा उडान तथा अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।

हाल लागू रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) अनुसार पोखरा विमानस्थलमा कम्तीमा ३,१०० मिटर तथा काठमाडौं र भैरहवामा १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। नयाँ प्रविधिको प्रयोगसँगै कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घट्ने तथा हवाई सेवाको सुरक्षा, गुणस्तर र विश्वसनीयता अझ सुदृढ हुने विश्वास कम्पनीको छ।

बुद्ध एयरले आगामी अगस्टको अन्त्यसम्म अर्को एटीआर ७२–६०० विमान पनि भित्र्याउने तयारी गरिरहेको जनाएको छ। साथै, आगामी केही महिनाभित्र यही सिरिजका थप दुई विमान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ।

हाल बुद्ध एयरसँग एउटा एटीआर ४२–३२०, १५ वटा एटीआर ७२–५०० र एउटा एटीआर ७२–६०० विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीको एटीआर ७२–६०० बेडा दुईवटा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij