ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाभित्र सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ को सहयोगमा पार्टी बिभाजन गर्न खोजेको चर्चा चुलिएको छ । अध्यक्ष ओलीले गएको शनिबार अर्का अध्यक्ष प्रचण्डसँग एक्कासी पार्टी बिभाजनको मनसाय दर्शाएपछि उक्त पार्टीभित्र भारतीय खुफिया संस्थाको चलखेलको बहस सुरु भएको हो ।
ओलीले प्रचण्डसँग ‘अब म तपाईंहरुसँग सँगै जान सक्दिन, बरु सहमतिमा पार्टी बिभाजन गरौं’ भनेपछि प्रचण्डले पनि ओली बाह्य शक्तिको प्रभाबमा परेको महसुस गर्दै फर्केको स्रोतले जानकारी दियो ।
आईतबार र सोमबारको बिभिन्न अन्तरसम्बादमा प्रचण्ड र माधब नेपाल समूहका उच्च नेताहरुले ‘रअ’ कै योजनामा पार्टी फुट्को संघारमा पुगेको निस्कर्ष निकालेको बताइएको छ । तर उनीहरुले यसलाई अहिले नै सार्बजनिक गर्नु हतारो हुने भन्दै आफ्नो बुझाईका रुपमा मात्र सीमित गरेका छन् ।
गएको कार्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल आकस्मिकरुपमा काठमाण्डौं आएका थिए । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय हैसियत नै बिर्सेर लामो भेटघाट गरेका थिए । ‘रअ’ प्रमुख गोयल कुनै राजकीय भ्रमणमा नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणबारे यहाँको परराष्ट्र मन्त्रालय, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग कसैलाई जानकारी थिएन । यहाँको कुनै सरकारी संयन्त्रलाई जानकारी नदिई आए पनि उनले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका थिए ।
यसको कुटनीतिक र राजनीतिक क्षेत्रमा ब्यापक आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओलीले यसलाई सहज नै मानिरहेका छन् । बिना जानकारी आएर नेपालको कार्यकारी प्रमुखसँग भएको भेटघाटलाई यहाँको राजनीतिक र कुटनीतिक बृत्तमा निकै संसयपूर्णढंगले हेरिएको छ । ओली र गोयलबिचको छलफल राजनीतिमा केन्द्रित भएको प्रचण्ड र माधब नेपाल समूहको निष्कर्ष छ ।
‘रअ’ प्रमुख गोयल फर्केलगत्तै नेपालमा प्रमुख चाड दशैं सुरु भएकाले त्यसको राजनीतिक प्रभाब हप्ता दिनसम्म नदेखिएको प्रचण्ड र माधब समूहको अनुमान छ । ‘केही दिनमै मुलुकको राजनीतिमा केही परिबर्तन देख्न सकिने निस्कर्षमा थियौं हामी ।’ प्रचण्डनिकट स्रोतले भन्यो ‘दशैंलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाएर पार्टी बिभाजनको मनसाय देखाउनु रअसंगको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको हो कि भन्ने हाम्रो अनुमान छ ।’ भारतीय खुफिया संस्था ‘रअ’ को नेपालमा दुईओटा मिसन रहेको पनि उनी बताउँछन् ।
पहिलो मिसन नेपाललाई दीर्घकालीनरुपमा भारतको प्रभाबमा पारिरहनु हो । यो उसको दीर्घकालीन नीति हो । दोस्रो तथा पछिल्लो मिसन भनेको नेकपा बिभाजन गर्नु हो । नेकपा बिभाजन गर्नुका केही कारणहरुमा पहिलो नेपालबाट कम्युनिष्ट आन्दोलनको समाप्त गर्ने र भारतीय कम्युनिष्ट आन्दोलनप्रतिको आकर्षण पनि घटाउने भएको उनको दाबी छ । नेपालको दुई तिहाईको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुदा भारतमा संकट अबस्थामा पुगेको कम्युनिष्ट आन्दोलन पुरै समाप्त हुने र भबिश्यमा उठ्न नसक्ने भारतीय संस्थापनको बुझाई छ ।
दोस्रो कारण भारतीय संस्थापन र नेपालका कम्युनिष्टहरुको राजनीतिक, सैद्धान्तिक, बैचारिक भिन्नता हो । तेस्रो नेपालको कम्युनिष्ट जनमत भारतबिरोधी छ । बेला–बेलामा भारतबिरोधी राष्ट्रबादको नारा लगाउने कम्युनिष्ट नै हुन ।
चौथो अहिलेको ओली सत्ता पश्चिमा शक्तिहरुको पुरै प्रभाबमा हुनु हो । पश्चिमाहरु क्रिश्चियन मिसन दक्षिण एसियामा बढाउन चाहन्छन् । त्यसको बाधक भारतको अहिलेको संस्थापन देखिएको छ । उनीहरुले नेपालको ओली सत्तालाई पूर्णरुपमा प्रभाबमा पारेर हिन्दु जनमतमाथि आक्रमण गर्न थालेको भारतीय बुझाई देखिन्छ ।
नेपाललाई पश्चिमा शक्तिको प्रभाबबाट मुक्त पार्न पनि नेकपा बिभाजन गरी ओली सत्ता कमजोर पार्दै आफ्नो प्रभाबभित्र राख्न उनीहरुले अनिबार्य देखेका छन् ।
पाँचौ कारण नेकपा बिभाजित गरेर ओलीलाई आफ्नो मुठिभित्र पार्न सके लिपुलेक र कालापानीको मुद्धा नेपालमा उठ्न सक्दैन भन्ने भारतीय संस्थापनको बुझाई रहेको प्रचण्ड र माधब समूहका नेताहरुको भनाई छ ।
यो मिसन पुरा गर्न गोयलले ओलीलाई पार्टी बिभाजन गरेर प्रचण्ड र माधब नेपाल समूहलाई आउट गरे पनि सत्ताको सुनिश्चित गरिदिएको चर्चा पनि उक्त समूहमा भइरहेको छ । ‘पार्टी बिभाजन भए काँगे्रस र मधेशी दलहरुलाई सत्तामा ल्याउने जिम्म गोलले लिएको कुरा आएको छ ।’ उक्त समूहको बिश्वस्त स्रोतले भन्यो ‘यही भएर प्रधानमन्त्रीले कदम चाल्न खोजेको देखिदैछ ।’