अर्थबाहेक अरुमा नजाने पाण्डे पक्षधरको सुझाब
ई–आर्थिक, काठमाडौं । अर्थमन्त्रीबाट डा. युवराज खतिवडा बाहिरिएपछि खाली भएको अर्थमन्त्रालयमा नेकपा भित्रका दुई नेताले दाबी गरिरहेको बुझिाएको छ । नेकपा भित्रका दुई प्रभावशाली नेताद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डेले दाबी गरिरहेकोे स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्रालय विष्णु पौडेललाई दिने पक्षमा रहेको पनि स्रोतको दाबी छ । नेता पाण्डेलाई भने शहरी विकास मन्त्रालय लिन प्रधानमन्त्रीले प्रस्ताव राखिरहेको स्रोतको भनाई छ । तर पाण्डेले भने अर्थ बाहेकका कुनै पनि मन्त्रालयमा आफूले जिम्मेवारी नलिने पक्षमा रहेका छन् । उनी समर्थक नेताहरुले समेत अर्थबाहेक हुनै पनि मन्त्रालय नलिन पाण्डेलाई सुझाई रहेका छन् ।
महत्वपूर्ण मन्त्रालय भएकाले पनि प्रधानमन्त्री ओली आफू पकड नेतालाई मात्रै मन्त्राललय दिने योजनामा रहेको स्रोत बताउँछ । अहिले पाण्डेलाई दिने भनिएको शहरी विकाससँगै सञ्चार मन्त्रालय पनि खाली छ । यसअघि युवराज खतिवडाले सम्हालेको उक्त मन्त्रालय उनी बाहिरिएसँगै अहिले प्रधानमन्त्री आफैंले राखेका छन् ।
यसअघि अर्थ राज्यमन्त्रीमा विमला राई पौडेललाई बनाएर निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको सहयोगमा चलाउने तयारीमा प्रधानमन्त्री थिए । तर खतिवडालाई अमेरिकाको लागि राजदुत बनाउने निर्णय भइसकेपछि विष्णु पौडेललाई अर्थमन्त्रालयमा ल्याउने योजना प्रधानमन्त्रीले बनाइरहेको पनि स्रोतले जानकारी दिएको छ ।
पाण्डेले यसअघि पनि अर्थ मन्त्रालय चलाइसकेकाले अन्य मन्त्रालयमा नजाने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने अन्तिम तयारी गरिरहेका छन् । आज दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा समेत नयाँ मन्त्रीबारे थप छलफल हुने स्रोतले जानकारी दिएको छ ।
मन्त्रीपरिषद् पुनर्गठनमा केही नयाँ अनुहार समेत आउने चर्चा छ भने केहीलाई हटाउने तयारी समेत भइरहेको बुझिएको छ ।