ई–आर्थिक, बुटवल । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब बिष्णु पौडेलको दोहोरो भूमिकाका कारण प्रदेश ५ को राजधानी सारिएको बिषय पेचिलो बनेको छ । सुरुमा राजधानी सार्ने बिषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सहमति दिएका पौडेल यतिबेला राजधानी बुटवलमै कायम हुनुपर्ने पक्षमा उभिएका छन् । राजधानी दाङको भालुवाङमा लैजाने नेकपाका अध्यक्षद्वयको सहमति सार्बजनिक भएपछि बुटवल क्षेत्रमा त्यसको कडा बिरोध हुनबित्तिकै पौडेल ‘युटर्न’ भएको नेकपाको प्रदेश कमिटिका नेताहरुले जानकारी दिएका छन् ।
अहिले पौडेलले काँगे्रसका साँसदहरु उचाल्ने काम गरिरहेको उनीहरुको भनाई छ । नेकपाका महासचिब पौडेल र काँग्रेस साँसदहरुबिच मिनेट–मिनेटमा सूचना आदान प्रदान गरेर राजधानी भालुवाङ लैजाने निर्णयको बिरुद्धमा बिरोधको माहौल सिर्जना गरिएको प्रदेशका एक मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । पौडेल र काँगे्रसका संसदीय दलका नेता बीरेन्द्र कनौडियाकै योजनामा अहिले बुटवलमा बिरोध प्रदर्शन गरिएको उनको भनाई छ । पौडेल र कनौडियाकै योजनामा संसदमा तोडफोड गरिएको र बिरोधलाई हिंसात्मक बनाउन खोजिएको पनि उनले आरोप लगाए ।
नेकपाको प्रदेश ५ का एक नेताका अनुसार राजधानीको निर्णय हुनुअघि ओली र प्रचण्डले पौडेलसँग छलफल गरेका थिए । अध्यक्ष ओली आफ्ना सबभन्दा बिश्वास पात्र तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई शक्तिशाली बनाउन राजधानी दाङ जिल्लामा सार्न चाहन्थे । ओलीको यो चाहना पौडेलले राम्रोसँग बुझेका थिए । मुख्यमन्त्री पोखरेलले पनि यसबारेमा ओलीलाई बारम्बार सहयोग गरिदिन भनिरहेका थिए । तर बिगतमा पौडेलको अडानकै कारण ओली र पोखरेलको योजना सफल भएको थिएन ।
पार्टीभित्रको किचलोले ओलीलाई पौडेलको सहयोग निरन्तर जरुरी भएकाले पनि पौडेलको ईच्छाबिपरित ओली अघि बढेनन् । अहिले भने परिस्थिति फेरिएकाले ओलीले प्रदेश ५ को राजधानी दाङमा लैजाने सम्बन्धमा सबभन्दा पहिले प्रचण्डसँग सल्लाह गरेका थिए । पार्टीभित्रको बिबाद किनारा लागेको र पौडेल पनि अर्थमन्त्रीका लागि तीब्र कसरतमा जुटको मौका पारेर ओली प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ लैजाने सहमति गराउन सफल भएका हुन । ओलीको ईच्छाबिपरित जादा अर्थमन्त्री हुन नसक्ने देखेका बिष्णु पौडेलले राजधानीको बिषयमा ओलीसँग सहमति गरेपछि अबस्था सहज भएको थियो । ‘पौडेलले यस बिषयमा ओलीसँग छलफल हुदा पहिलेकै अडान राखेको भए राजधानीबारे अहिले निर्णय हुने संभाबना नै थिएन ।’ नेकपा प्रदेश कमटिका एक सदस्य भन्छन् ‘उनलाई प्रदेशको राजधानीभन्दा अर्थमन्त्रालयको लोभ पलाएको थियो र ओलीसँग सहमति जनाए ।’
बिष्णु पौडेलकै दोहोरो भूमिकाको कारण राजधानीको विषयमा सत्तारुढ नेकपा बिभाजित भएको छ । गएको शनिबार बसेको प्रदेश ५ नेकपा संसदीय दलको बैठकमा भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, विष्णु पन्थी, युवराज खनाललगायतका १४ जनाले नोट अफ डिसेन्ट लेखेका छन् । यि सबै महासचिब पौडेल निकट साँसद हुन । पौडेलकै इशारामा उनीहरुले नोट अफ डिसेन्ट लेखेको बताइएको छ । यसले कतै संसदमा पेश भएको प्रस्ताब असफल हुने त हैन भनेर शंका उब्जाएको छ । ५ नम्बरमा ८७ सदस्यीय प्रदेशसभा छ । राजधानी सार्ने बिषयमा दुई तिहाई मत आवश्यक हुन्छ । त्यसका लागि ५८ सांसद आवश्यक पर्ने देखिन्छ । त्यसो त प्रदेश ५ मा नेकपाको दुई तिहाई अर्थात ६१ सांसद छन् । तर महासचिब पौडेलले सहयोग गरेनन् भने दुई तिहाई नपुग्ने देखिन्छ । किनभने पौडेलसँग डेढ दर्जनभन्दा बढी साँसदहरु छन् । यसले प्रदेश ५ को राजधानीको बिषय निकै पेचिलो बन्न थालेको साँसदहरु बताउन थालेका छन् ।