ई-आर्थिक, काठमाडौं। ललितपुरको पुल्चोकमा स्थानीयले रातो मच्छिन्द्रनाथको रथ जात्रा गर्नुपर्ने माग गर्दै रथ तान्न शुरु भए पछि प्रहरी र स्थानीयबीच झडप भएको छ । निषेधाज्ञा तोडेर स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले रथ नतान्न आग्रह गरेको र रथ तान्न पाउनु पर्ने माग गर्ने युवाहरुले अडान नछोडेपछि दुई पक्षबीच झडप भएको हो । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले लाठिचार्जसमेत हानेको छ ।
आफ्नो संस्कृति जोगाउने भन्दै भेला भइ रातो मच्छिन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका थिए । बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।
कोभिड-१९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर, अहिले पनि तनाव कायमै छ ।