ई–आर्थिक, राजविराज : सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–६ स्थित एउटै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एउटै परिवारको ठूलो संख्यामा संक्रमित देखिएपछि कञ्चनरुप–६ स्थित घोघनपुर ‘सिल’ गरिएको छ ।
संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल सिल गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले जानकारी दिए । यो सिललाई अर्को आदेश नहुञ्जेलसम्मका लागि लागू हुने उनले बताए ।
साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी सिल गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको बताए । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी ‘सिल’ गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ ।
कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका १०, १२, १३, ३६ र ६२ वर्षीय पुरुष तथा ३० र ६२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । राजविराजबाट फर्किएर गएका ३६ वर्षीय व्यापारीलाई ज्वरो र रुघाखोकी लागेर शंका गरी परीक्षण गर्दा ५ दिन अघि सो कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परेका परिवारका ७ जनासहित छिमेकीहरु समेत १६ जनाको शनिबार स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षण गरिएकामध्ये संक्रमितको परिवारका आमा, श्रीमती, छोराछोरी र परिवारका नातेदारहरु नै ७ जना रहेको छन् । यसअघि नै कोरोना पुष्टि भएका व्यापारी होम आइसोलेशनमा बसिरहकाले थप संक्रमित उनका परिवारका ७ जनालाई पनि होम आइसोलेसनमै राखिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कञ्चनरुपका ८० जनाको स्वाब परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालले गरेको परीक्षणअनुसार राजविराज नगरपालिका– ४ का ३५ वर्षीय पुरुष तथा तिलाठी कोईलाडी गाउँपालिका– ८ का २७, २८, ५५ र ७५ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।
सप्तरी जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या १२७ महिला र ६९६ पुरुष गरी ८२३ पुगेको छ । तीमध्ये ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । हाल आइसोलेसनमा २१२ जना उपचाररत रहेका छन् भने छ जना संक्रमतिको मृत्यु भइसकेको छ ।