२०८३ साउन ९ शनिबार

विदेशबाट ५१ हजार ९६३ नेपालीको उद्दार, कुन देशबाट कति आए

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०७७
16.3K
Shares
विदेशबाट ५१ हजार ९६३ नेपालीको उद्दार, कुन देशबाट कति आए

नेपाल फर्कनेले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव सुरु भएयता विभिन्न मुलुकबाट ५१ हजार ९६३ नेपालीको उद्दार भएको छ ।
विभिन्न मुलुकबाट उद्दार गरी स्वदेश फर्काउने क्रममा सो संख्यामा नेपालीहरुको उद्दार भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जानकारी दिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको सेन्टरले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

सरकारले गत जेठ मध्यदेखि सुरु गरेको उद्धार उडान सुरु गरेको थियो । सो उडानमार्फत भदौ ३ सम्म सबैभन्दा धेरै संयुक्त अरब एमिरेट्स यूएईबाट १४ हजार ४८१ जनाको उद्धार भएको छ । त्यसपछि साउदी अरबबाट सात हजार ८१७ र मलेसियाबाट सात हजार ७९५ जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित छ हजार ३२९ र कतारबाट छ हजार १९१ जनाको उद्धार गरिएको सेन्टरले जनाएको छ । त्यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९४३, ओमानबाट ८११, म्यानमारबाट २६, जापानबाट एक हजार २८२, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ९६७, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच र सिङ्गापुरबाट २९७ जनाको उद्धार गरिएको छ ।

त्यस्तै हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ३१२, फिलिपिन्सबाट २०१, इन्डोनेसियाबाट २०, स्विजरल्यान्डबाट १०, भारतबाट ८५ र इराकबाट ३९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । त्यस्तै अन्य मुलुकमार्फत ६८ जना नेपाल फर्किएका सो सेन्टरले जानकारी दिएको छ ।

उद्दार प्रभावकारी नहुँदा विदेशमा अझै लाखौं नेपाली उद्दारको पर्खाइमा रहेका छन् । विदेशमा खाना समेत नपाएर विचल्ली पर्ने नेपालीको संख्या पनि त्यत्तिकै छ ।

नेपाल फर्कनेले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

यसैबीच अबदेखि नेपाल फर्कनेले सात दिन होटलमा अनिवार्य बस्नु पर्ने भएको छ । विहीवार बसेको मन्त्रीपरिषद्को निर्णयले हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने निर्णय गरेको हो ।

नेपाल फर्कनेले कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्ने भएको छ । होटलमा बस्दाको सम्पूर्ण खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भन्दै हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि होटलको क्वारेन्टाइनमा अनिवार्य बस्ने सहित विभिन्न मापदण्ड निर्धारण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij