ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका २५९ जना नयाँ संक्रमित भेटिएका छन्। मंगलबार यससँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाै पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको जनाएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंका ४८ जना, ललितपुरका एक जना र भक्तपुरका १३ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २६ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केको जानकारी दिए । यो सँगै हालसम्म १५ हजार २६ जना संक्रमित कोरोना मुक्त भइसकेका छन् ।
नेपालमा थप एक जनाको कोरोना संक्रमणको कारण निधन भएको छ। निधन हुने विराटनगरका आदर्श टोल निवासी ७७ वर्षिय वृद्ध हुन्। योसँगै नेपालमा ५८ जना कोरोना संक्रमितको निधन भएको छ।