ई–आर्थिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कब्जा गरेको नेपाली भूमी फिर्ता गर्ने मनस्थिति नदेखिएसम्म बार्तामा बस्नुको कुनै औचित्य नभएको कुटनीतिक जबाफ दिएको खुलासा भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बिभिन्न कुटनीतिक च्यानल प्रयोग गरेर दिल्लीलाई यस्तो जबाफ दिएका हुन ।
पछिल्लो पटक काठमाण्डौ र दिल्लीको लामो संबादहीनता देखिएको भन्दै केही कुटनीतिज्ञहरु सक्रिय हुन थालेपछि प्रधानमन्त्री ओलीले उनीहरुमार्फत त्यस्तो जबाफ दिएका हुन । ‘नेपालको भूमी अतिक्रमण भएको छ । आज आम नेपालीको मनमा गहिरो चोट पुगेको छ ।’ ओलीले आफ्नो कुटनीतिक च्यानलमार्फत भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो ‘यो भारतको संस्थापनले नबुझेर र नजानेर गरेको ब्यबहार होइन ।’
नेपालको सीमा अतिक्रमणका पछाडि भारतीय बर्तमान संस्थापनको बिस्तारबादी नीति जिम्मेवार भएकाले उसले नेपालप्रतिको यस्तो कदम सच्याउने संकेत गर्ने हो भने जतिसुकै बेला दुई पक्षीय बार्ताको ढोका खुला गरिने ओलीको भनाई छ । जानीबुझीकन नेपाली भूमी अतिक्रमण गरेको हुनाले बार्ताको बाताबरण बनाउन भारतले नै आफ्नो कदमलाई पुनरावलोकन गर्नु पर्ने ओलीको भनाई छ । नेपालले छिमेकी राष्ट्र भारतप्रति सदैब असल र भाइचाराको सम्बन्ध राख्दै आएको कुराको स्मरण गराउँदै दुई देशबिचको सम्बन्धमा पछिल्लो पटक देखिएको असमझदारीमा नेपालको कुनै हात नभएको स्पष्टसमेत जबाफ दिएका छन् । नेपालले असंलग्न परराष्ट्र नीतिलाई मूल सिद्धान्तका रुपमा लिए पनि छिमेकीलाई पहिलो प्राथमिकतामा राखेको कुरालाई पनि प्रधानमन्त्री ओलीले स्मरण गराएका थिए । ‘तर के हामीले भारतबाट संधै असल छिमेकीको मात्र ब्यबहार पाएका छौ त ? सानो र आर्थिकरुपमा सक्षम हुदै गरेको नेपाल कोरोनाको महामारीसँग जुध्दै गर्दा नजिकको छिमेकीले गर्ने ब्यबहार त्यही हो ?’ ओलीले प्रश्न गरेका छन् ।
राष्ट्र हित र स्वार्थसँग नेपालले कुनै सौदाबाजी नगर्ने र कोही कसैसँग नझुक्ने पनि ओलीले प्रष्ट पारेका छन् । ‘हिजो कुन बेला के भयो ? कसले के गरे ? त्यो बेग्लै बिषय हो । तर आज नेपाल सरकार आफ्नो सार्बभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वतन्त्रतामा आँच आउने कुनै पनि ब्यबहार सहदैन र त्यसको डटेर सामना गर्छ ।’ कुटनीतिक स्रोतले ओलीको जबाफ उदृत गर्दै भन्यो । भारतले नेपालको भूमी अतिक्रमण गरेर तिब्बतको मानसरोबरसम्म जोड्ने सडक निर्माण गरेपछि नेपाल भारतको सम्बन्धमा दरार आएको थियो । भारतको उक्त बिस्तारबादी नीतिबिरुद्ध नेपाल सरकारले गएको जेठ ७ गतेबाट नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा कार्यान्वयनमा ल्याएपछि दुई देशबिचको सम्बन्ध ईतिहासकै खराब बनेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।
त्यसयता दुई देशबिचको सम्बन्ध निकै तनाबपूर्ण छ । कुनै संबादसमेत हुन सकेको छैन । परापूर्बकालदेखिको दुई देशबिचको ऐतिहासिक सम्बन्धमा पछिल्लो पटक आएको तिक्तता र संबादहीनता तोडेर नयाँ शिराबाट बार्ता चलाउन भन्दै दुई देशकै केही कुटनीतिज्ञले आवाज उठाउँदै आएका छन् । पछिल्लो कदमले भारतलाई निकै ठूलो राजनीतिक र कुटनीतिक धक्का लागेपछि उसले बिभिन्न आफ्ना कुटनीतिक च्यानल प्रयोग गरी बार्ताको लागि बाताबरण बनाउन खोजेको संकेत दिएको छ । यस्तो बेला नेपालका प्रधानमन्त्री ओलीले भने आफ्नो अडान प्रष्टताका साथ राखेर जबाफ दिएको कुटनीतिक स्रोत बताउँछ ।