ई–आर्थिक, धरान : नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण मृत्यु हुने क्रम जारी रहेको छ । यसैक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वृद्धको निधन भएको छ । कोभिडका कारण महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राती मृत्यु भएको हो । उनी गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएको थियो ।
योसँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।
मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
सोही प्रतिष्ठानमा यसअघि सप्तरीका ७३ वर्षीय व्यवसायी रामकृष्ण दासको निधन भएको थियो । प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।