ई–आर्थिक, काठमाडौं । नेपालको कुल जनसंख्या तीन करोड ६३४ पुगेको छ । शुक्रबार मध्यान्हदेखि केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा नेपालको उक्त जनसंख्या देखाइएको हो ।
सामान्यतया बोलीचालीमा समेत नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष वितिसेकपछि विभागकै तथ्यांकमा सो जनसंख्या देखाइएको हो ।
हाल देखाइएको जनसंख्या वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको विभागले जानकारी दिएको छ । विभागको जनसंख्या घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ ।
२०६८ सालको ११औं जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । ठिक एक बर्षपछि १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।