ई–आर्थिक, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका कोरोना भाइरस (कोभिड–१९) को त्रासले आतंकित भएको छ । सोमबार एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो गाउँपालिका भाइरस संक्रमणको डरले आतंकित भएको हो । सो गाउँपालिकाले आपतकालीन बैठक डाकेर सो क्षेत्रका निजी तथा सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णयसमेत भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समूहका ९ जना पुरुष र ३५ वर्षीया १ महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि सो गाउँपालिकामा कोरोनाको संक्रमणको त्रास बढेकोे हो ।
गाउँपालिकाका अनुसार क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टिनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेका सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, गाउँपालिकावासीलाई उच्च मनोवलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलई सुरक्षित रहन गाउँपालिकाले एक सूचना प्रकाशित गरेर अनुरोध गरेको छ ।
तनहुँमा हालसम्म ८९ जनामा कोरोना संक्रमण फैलिएको छ भने यो संख्या बढेर जाने संभावना रहेको स्थानीय स्वास्थ्यकर्मीहरुको अनुमान छ ।