लकडाउन कडा गर्ने बेलामा खुकुलो बनाइएकाले कोरोनाको संक्रमण भयाबह हुनसक्ने चिकित्सकको भनाई
ई–आर्थिक, काठमाडौं । काठमाडौं कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । असार १ गतेदेखि अधिकांश बजार खुलेसँगै मानिसको चहलपहल बढेकाले काठमाडौं कोरोना भाइरसको उच्च जोखिममा परेको हो । लकडाउन खुकुलो पार्ने सरकारको निर्णयसँगै उपत्यका बाहिरबाट निर्वाधरुपमा राजधानी भित्रिनेको संख्या दिनदिनै बढिरहेको छ । त्यसैपनि काठमाडौंमा कोरोना संक्रमितहरु प्रसस्तै रहेको अनुमान गरिएको छ । यसबीचमा खुलेको बजारले झन् कोरोनाको संक्रमण बढाउन सजिलो हुने चिकित्सकहरुको अनुमान छ ।
‘मानिसहरुको चहलपहल बढेको अवस्थामा कोरोनोको संक्रमणले व्यापकता पाउने संभावना बढी हुन्छ ।’ चिकित्सक डा. गौतम चौधरीले भने– ‘यस्तो बेलामा सबैले स्वास्थ्य सम्बन्धि सुरक्षाको सावधानी अपनाएर मात्रै आफ्ना नियमित गतिविधिमा संलग्न हुनुपर्छ ।’ लामो समय लकडाउन भइसकेकाले रोजीरोटीमा आर्थिक समस्या परिरहेको बेला आफ्नो दैनिकीमा नहिडी नहिड्ने अवस्था छ तर, अहिले अझ् सतर्कता अपनाउने बेला भएको पनि डा. चौधरीले बताए ।
लकडाउन खुकुलो भएसँगै कोरोनाका संक्रमितहरु पनि दिनप्रति दिन बढिरहेका छन् । तर हिजो आइतबार ३२ गते ४ सय २५ संक्रमित रहेकोमा आज सोमबार १ गते मात्रै ४ सय ५१ जना थपिएका छन् । देशभर संक्रमितको संख्या ६ हजार २११ पुगेका छन् ।
शनिबार अर्थात ३१ गते २३१ जना थपिएका थिए । यसरी हेर्दा हिजो भन्दा आज र आजभन्दा भोली संक्रमित बढिरहेका छन् । यही अनुपातमा संक्रमित बढ्ने हो भने नेपालमा कोरोना संक्रमणको अवस्था भयावह हुने निश्चित भएको अर्का एक चिकित्सकले बताए । उनका अनुसार अहिले लकडाउन कडा गर्ने बेलामा खुकुलो पारियो ।
विहान बेलुकाको छाक टार्न नसकिरहेको अवस्थामा लकडाउन परिवर्तन आवश्यकता थियो । उता राज्यलाई पनि राजश्व चाहिएकाले लकडाउन खुकुलो बनाएर राजश्व उठाउनै पर्ने थियो । व्यवसायीहरुलाई पनि राजश्व तिर्न, बैंक ब्याज बुझाउन र कर्मचारीहरुलाई तलब दिन पनि बजार खोल्नै पर्ने आवश्यकता छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग गर्न निजीक्षेत्र हदैसम्म तयार छ । तर सरकारले पनि निजीक्षेत्रलाई पनि सहयोग गर्नुपर्ने शर्त उद्योगी व्यवसायीको छ । कर तिर्ने भाका बढाउन, बैंक व्याज तिर्ने समय लम्व्याउन र जरिवाना मिनाह जस्ता कुरामा सरकारले निजीक्षेत्रलाई सहयोग गर्नुपर्ने उद्योगी व्यवसायीको भनाई छ ।
सबैको आवश्यकताले परिवर्तन गरिएको लकडाउनले नेपालको स्वास्थ्य क्षेत्रमा चुनौति थपिदिएको डा. सन्तोष कटुवालले बताए ।
दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढिरहेको बर्तमान समयमा सकिन्छ भने सबैजना होम क्वारेन्टीनमै बस्नुपर्ने उनको सुझाब छ ।
बढिरहेको यो संख्याले कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गइरहेको उनको भनाई छ । नेपालको सबैभन्दा उच्च जोखिममा काठमाडौं उपत्यका रहेको उनले बताए । उपत्यकामा एकपछि अर्को संक्रमित थपिदै गएका छन् । आज १ गते पनि काठमाडौं थप ५ जना संक्रमित थपिएका छन् । अत्यावश्यक नभए यात्रा नगर्न र घरबाहिर जानै पर्ने भए व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र सावधानी अपनाउन डा. कटुवालको सबैलाई आग्रह गरे ।
सरकारले सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत सञ्चालन हुन पाउने व्यवस्था गरेको छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने व्यवस्थासँगै काठमाडौंको चहलपहल उल्लेख्य बढेको छ । तर सरकारले व्यवस्था गरेको प्रावधानलाई प्रभावकारी अनुगमन गरिएको देखिदैन ।
तत्कालका लागि मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन भने बन्द नै छन् ।
यसैगरी सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, संग्राहालय, चिडियाखाना, स्पा, शैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, यात्रुबाहक सवारीसाधन पनि प्रतिबन्ध लगाइएको छ । तर धेरै उपत्यकाका धेरै रेष्टुरेन्टलगायत धेरै व्यवसाय भित्रभित्रै सञ्चालन भइरहेका छन् ।
रोजी रोटीसँग जोडिएको सवाल भएकाले पनि स्थानीय निकाय र प्रशासनले खासै कडाई गर्न सकिरहेको देखिदैन । यसले पनि कोरोना संक्रमणले व्यापक फैलिने मौका पाइरहेको हुनसक्ने अनुमान चिकित्सकहरुको छ ।