काभ्रेपलाञ्चोक, जेठ २३ गते । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टाइनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टाइनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टाइन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवसायीले क्वारेन्टाइन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टाइन बनाउने तयारीमा जुटिसकेका छौँ ।”
नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पु¥याउन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । साथै स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई १०० श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहलगायत सङ्घसंस्थामा हालसम्म ६४३ शय्याको क्वारेन्टाइन व्यवस्थित छन् । “अन्य देशबाट समेत काभ्रेली आउने भएपछि स्थानीय तहका क्वारेन्टाइनको क्षमता विस्तार गर्दै सातदेखि १०० श्ययाको बनाउन लागेका छौँ”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेकालाई हालसम्म कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई काठमाडौँस्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा राखिनेछ । जिल्ला प्रशासन कर्यालयको समन्वयमा सम्बन्धित स्थानीय तहमा जानकारी गराइ होटल बस्ने वा स्थानीय क्वारेन्टाइन बस्नेबारे निर्णयपछि सोहीअनुसार गरिने झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट आउने पिसीआर परीक्षण गरेर आएका हुन्छन् । “होटल वा अन्य क्वारेन्टाइनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टाइनमा बसाइनेछ”, झाले भन्नुभयो ।
सरकारले आजदेखि विदेशमा रहेका नेपालीलाई क्रमैसँग स्वदेश फर्काउने तयारी गरेको हो । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइन र थप सात दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधान छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । यसअघि गत साल माघ महिनायता ४५१ विदेशिएका काभ्रेपलाञ्चोकस्थित घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।
-रासस