२०८३ साउन ९ शनिबार

कोरोनाभाइरसको जोखिम अझ बढे ‘नेपाल भारत सीमा नाकाबाट सामान ढुवानी मात्रै गरिने’

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
9.5K
Shares
कोरोनाभाइरसको जोखिम अझ बढे ‘नेपाल भारत सीमा नाकाबाट सामान ढुवानी मात्रै गरिने’

बीबीसी । छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल–भारत सीमामार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन् ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रवार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

त्यसमध्ये नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा १८ भारतीय र एक विदेशी तथा उत्तराखण्ड र पश्चिम बङ्गालमा एक–एक जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ ।

कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै हाल आवातजावतका लागि नेपाल र भारतले चारवटा नाका खुला राख्ने निर्णय गरेका छन् ।

अझ कडाइ

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले हाल स्वास्थ्य जाँच गरेर नेपाल र भारतका नागरिकहरूलाई तोकिएका नाकाहरूबाट आवतजावतको व्यवस्था मिलाइएको भए पनि परिस्थिति हेरेर त्यसबारे थप निर्णय गरिने बताए ।

उनले भने, ‘अहिले ४ वटा प्रवेशबिन्दुहरू तोकिएको छ। अवस्था हेरेर त्यसलाई घटाउन सकिन्छ। परिस्थिति अझ बिग्रियो भने सबै आवतजावत नै नियन्त्रण गर्नुपर्ने हुन्छ ।’

अहिले नै हामीले आवतजावत पूर्ण रूपमा नियन्त्रण गर्ने भनिसकेका छैनौँ । तर परिआउँदा उच्चस्तरीय समितिमार्फत्‌ लकडाउनसम्मको निर्णय पनि गर्नुपर्ने हुन्छ ।

उनले ‘लक डाउन’ को अवस्थामा पनि भारतबाट सामानको ढुवानीका लागि भने खुल्ला नै राख्ने उल्लेख गरे । कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै भारतको गृह मन्त्रालयले रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउने सूचना छ दिनअघि जारी गरेको थियो ।

केन्द्रका अधिकारीहरूले अवस्थालाई नजिकबाट नियालिरहेको बताइरहँदा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश नजिकैको बेल्हिया नाकाबाट बिहीवार १३ हजार जनाभन्दा बढी नेपाल प्रवेश गरेको सीमामा खटिएका एक अधिकारीले बीबीसीलाई बताए ।

बेल्हिया नाकामा स्वास्थ्य जाँचको व्यवस्थापन गरिरहेको सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापा भन्छिन्, ‘एकदमै भिडभाड हुने भएकाले हामीले नाम लेख्न सकिरहेका छैनौँ । तर सबैको जाँच गरिरहेका छौँ ।

बिहीवार गोरखपुरबाट विवाहमा आउँदै गरेकी एक बालिकामा लक्षण जस्तो देखिएपछि हामीले उतै फिर्ता गरिदियौँ। भारततर्फ पनि प्रवेश गर्नेहरूलाई जाँच भइरहेको छ र हामी दुवै पक्षबीच राम्रो समन्वय रहेको छ ।’

नेपाल र भारतबीच झण्डै १८ सय किलोमिटर लामो खुला सिमाना रहेको छ र दैनिक उपभोग्य सामग्रीदेखि अधिकांश उत्पादनमा नेपाल भारतसँग निर्भर रहने गरेको छ ।

यसअघि बिहीवार भारतले आइतवारबाट लागु हुने गरी एक सातासम्मका लागि कुनै पनि अन्तर्राष्ट्रिय उडानहरूलाई आफ्नो देशका विमानस्थलमा अवतरण गर्न नदिने बताएको थियो ।

आपूर्ति सरकारको प्राथमिकतामा

यसअघि बीबीसीसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सामान ढुवानीका लागि चीनसँगको नाका खोल्न लागिएको र भारततर्फका नाकामा आवतजावतमा कडाइ गर्न लागिएको बताएका थिए ।

कोरोनाभाइरसको सङ्क्रमण देखा परेसँगै उत्तरतर्फका नाकाहरूबाट हुने सबै प्रकारका आवतजावत र आर्थिक गतिविधि ठप्प भएका थिए ।
उनले आवतजावत नियन्त्रणलाई कोरोनाभाइरसलाई नेपालमा प्रवेश हुन नदिने अर्थमा लिइनुपर्ने र त्यसबाट आपूर्तिमा असर नपर्ने उल्लेख गरेका थिए ।

उनको भनाइ छ, ‘हामीले भारत र चीन दुवैतर्फका नाकाहरूबाट सामानहरू भित्र्याउने भनेका छौँ। कुन सामान कति दिनसम्म क्वारन्टीनमा राखेर बजार पठाउने भन्नेबारे पनि गृहकार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij