ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको त्रासमा रहेका उपभोक्ताहरुमा अर्को हल्लाले बेचैन बनाएको छ । केही दिनबाट उपभोग्य बस्तुको अभाब हुदैछ भन्ने हल्ला ब्यापक बनेपछि उनीहरुमा अर्को त्रास देखिएको हो । भारतीय नाकाबन्दीभन्दा चर्कोरुपमा खाद्यन्नको अभाब हुने हल्लाले बजार पिटेको छ । त्यसैले उपभोक्ताहरु ग्याँस, चामल, दाल, चिनी, तेलजस्ता बस्तुको भण्डारमा जुटेका छन् । यसले बजारमा खाद्यन्नको माग बढ्न थालेको छ भने अनावश्यक रुपमा मूल्य बढ्ने संभाबना पनि देखिएको छ ।
कोरोनाले चीनबाट भित्रने केही सीमित खाद्यन्न बस्तुको अभाब भएकाले उपभोक्ताहरुले यस्तो अनर्गल प्रचारलाई बिश्वास गर्न थालेका छन् । कालोबजारियाले उपभोग्य बस्तुमा कालोबजारी गर्न यस्तो हल्ला चलाएको सरकारी निकायले स्पष्ट पारिसकेको छ । मुलुकमा कुनै संकट आउँदा कालोबजारीको ठूलो चलखेल हुने गरेको हुदा सरकारको यो भनाई बिश्वासनीय देखिन्छ । अहिले कोरोनाले चीन बढी प्रभाबित भएको र चीनसँग हाम्रो खाद्यन्न ब्यापार अत्यन्त न्युन भएकाले कुनै समस्या नहुने आपुर्ति मन्त्रालयले जनाएको छ । नेपालमा आयात हुने खाद्यन्नको बजार भारतले ओगटेको छ । भारतमा कोरोनाले ठूलो समस्या नबनाएकाले खाद्यन्नमा कुनै प्रभाब नपर्ने सरकारी अधिकारीहरु बताउँछन् ।
यस्तो अफबाह फैलन थालेपछि मंगलबार सरकार र निजी क्षेत्रको संयुक्त बैठक भएको छ । खाद्यन्नमा कालोबजारी हुन नदिन र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले निजी क्षेत्रसँग छलफल गरेको हो । यस बैठकमा सहभागीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् । औषधि पनि ३÷४ महिनालाई पुग्ने मौज्दात रहेको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । भारतले केही औषधि आपूर्तिमा रोक लगाएपछि अत्यावश्यक आयातका लागि सहज बनाउन आग्रह गर्ने सहमति भएको छ ।
‘भारततर्फबाट हुने व्यापारमा केही अवरोध छैन । अधिक स्टक गर्न आवश्यक छैन,’ उनले भने, ‘विक्रेताहरुले पनि स्टक छ, अति अधिक स्टक नगर्नुस् भन्नु भनेका छौं ।’
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेका छन् ।